रौतहटकी रुबीकुमारी साहका हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले केहीबेर पहिले अस्पतालले मृत घोषणा गरेको बताए।
रौतहटको माधवनारायण नगरपालिका-२ मुडबलवाकी रुबीकुमारीको गएको शनिबार बेलुका हत्या भएको थियो। भोलिपल्ट आइतबार बिहान सडकमा फालिएको सुटकेसमा उनको शव फेला परेको थियो।
साहका हत्या आरोपी पासवान भने बुधबार बिहान आफ्नो घरनजिकै शरीरमा मट्टितेल खन्याएर आगो लगाएको अवस्थामा फेला परेका थिए। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जलेर गम्भीर घाइते अवस्थामा फेला परेका ३० वर्षीय पासवानलाई सुरुमा रौतहटकै बेटर नेपाल अस्पताल लगिएको थियो। तर चिकित्सकले उनलाई थप उपचारका लागि कीर्तिपुर वर्न अस्पताल रेफर गरेका थिए। बुधबार वर्न अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
आत्मदाहको प्रयास पहिले उनले मिडिओ सार्वजनिक गर्दै साहको हत्या आफूले गरेको स्वीकार गरेका थिए। पासवानले छात्तीको दाहिनेतिर रुबीकै तस्विरको ट्याटु बनाए थिए भने दाहिने हातमा रुबीकै नाममा ट्याटु खोपेका थिए।



