२०८२ भाद्र १२, बिहीबार ०८:०४

प्रहरी उपरीक्षक राजकुमार सिलवालमाथि रकम असुली गर्ने गरेको आरोपमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले छानबिन समिति गठन गरेको छ । उनी राजमार्ग सुरक्षा तथा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख छन् ।

एसपी सिलवालमाथि जाँचका क्रममा चोरीका सवारी साधनको गैरकानुनी प्रयोग र चालकमाथि अभद्र व्यवहार गर्ने गरेको आरोप लागेको छ । एसपी सिलवालविरुद्ध मौखिक तथा लिखितसहित ३५ वटा गम्भीर प्रकृतिका गुनासो आएपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन अघि बढाइएको छ ।



मधेश प्रदेश प्रहरीका डीआईजी उमाप्रसाद चर्तुवेदीले सिलवालमाथि प्रदेश कार्यालयले आन्तरिक छानबिन गरिरहेको जानकारी दिए । डीआईजी चतुर्वेदीले सिलवालमाथि छानबिन गर्न प्रदेश कार्यालयले पाँचवटा छुट्टाछुटै समिति बनाएको बताए । सिलवालले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका चालकलाई जरिवाना तिराउँदै सवारी छाड्न लगाइ घर पठाउनुपर्नेमा कानुनविपरीत थुनामा राख्ने गरेको आरोपसमेत लागेको छ ।

यसरी चोरीका सवारी साधन गैरकानुनी प्रयोग गर्ने, अवैध मालसामान बोकेका सवारी साधनलाई आर्थिक प्रभावमा परेर जाँच नगर्ने जस्ता गम्भीर उजुरी उनीविरुद्ध परेको जनाइएको छ । ट्रान्सपोर्ट कम्पनीका ट्रक रोकेर गैरकानुनी तरिकाले रकम असुली गर्ने गरेको गुनासोसमेत उनीमाथि छ ।

एसपी सिलवालले भारतीय नम्बर प्लेटका गाडीहरुलाई प्रवेशमा कडाइका नाममा रकम असुली गर्ने गरेको उजुरी पनि आएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । एसपी सिलवाल यसअघि पनि पटकपटक विवादमा पर्दै आइरहेका छन् ।

यसअघि पनि उनीमाथि मिटरब्याजमा रकम लगाउने गरेको आरोप लागेको थियो । तर एसपी सिलवालले भने आफूमाथि समिति बनाएको बारे जानकारी नरहेको प्रतिक्रिया दिए ।

Comment


Related News

Latest News

Trending News