सर्लाहीमा पनि हैजा संक्रमणको आशंका गरिएको छ । प्रादेशिक अस्पताल सर्लाहीमा झाडापखालाको बिरामी एक्कासी बढ्दै गएको छ ।
प्रादेशिक अस्पताल मलंगवाले दिएको जानकारी अनुसार गएको ७ गते देखि प्रतिदिन १० देखि १२ जनाको हाराहारीमा झाडापखालाको बिरामी उपचारका लागि आउने गरेको जनाइएको छ ।
प्रादेशिक अस्पताल मलंगवाका चिकित्सक डा. सचिन यादवले झाडापखालाको बिरामी बढेको बताए । बारा र पर्सामा हैजा रोगको महामारी फैलिएकाले प्रादेशिक अस्पताल मलंगवामा उच्च सतर्कता अपनाइएको डा. यादवले भने । झाडापखालाको बिरामी दिनहुँ बढ्दै गए पनि हालसम्म बिरामीहरुमा हैजा पुष्टि भएको छैन ।
हैजा महामारी नियन्त्रण तथा रोगको रोकथामका लागि प्रादेशिक अस्पताल मलंगवा पूर्णरुपमा तैयार अवस्थामा रहेको डा. यादवले दाबी गरे । कुनै पनि महामारी नियन्त्रणका लागि हाम्रो चिकित्सकहरुको विशेष दस्ता तयारी अवस्थामा बसेको उनले बताए । गएको केही दिन यता झाडापखालाको बिरामीको संख्या हवात्तै बढेको असपताल प्रशासनको भनाइ छ ।
झाडापखालाका केही बिरामीहरुलाई रेफर समेत गरेको असपताल प्रशासनले बताए । यसैगरि पर्साको पोखरिया नगरपालिका र बाराको कलैया नगरपालिकामा हैजा संक्रमण पुष्टि भइसकेको छ । पोखरिया अस्पतालमा झाडापखालाको गुनासो लिएर भर्ना भएका १३ जनामध्ये ७ जनामा हैजा पुष्टि भएको थियो ।
मंगलवार ३ जनामा सङ्क्रमण देखिएको छ भने बुधबार थप ४ जनामा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) मार्फत हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए । हाल १२ जना पोखरिया अस्पतालको जनरल वार्डमा उपचाररत छन् भने एकजनालाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।
संक्रमित मध्ये अधिकांश वीरगञ्जमा बसोबास गर्ने रहेको अस्पतालले जनाएको छ । यसैगरि बाराको कलैया नगरपालिका–१८ स्थित पचौराका ५५ वर्षीय एक पुरुषमा बुधबार हैजा संक्रमण पुष्टि भएको छ । उनी वीरगञ्जमा काम गर्ने क्रममा संक्रमित भएको बताए । यसरी मधेश प्रदेशको अर्थिक नगरी पर्सा जिल्लाबाट शुरु भएको हैजा महामारी प्रदेश भरि फैलिन सक्ने अवस्था रहेको छ ।


