२०८२ भाद्र १३, शुक्रबार ०८:१५

रौतहटको एक घरमा गोदाम गरिराखेको चिनीका बोरामा देखिने भिडियो सशस्त्र प्रहरीलाई प्राप्त भएको थियो । भिडियो हेर्दा उक्त गोदाममा करिब ७ सय बोरा चिनी रहेको अनुमान थियो । रौतहटको गरूडा नगरपालिकाको एक घरमा साउन २९ गते बिहान चिनी भण्डारण गरेको सूचना सशस्त्रको हेडक्वार्टरले पाएको थियो । चिनी भण्डारण गरेको गोदामको भिडिओ प्राप्त भएको सूचना सशस्त्र प्रहरी हेडक्वार्टरले ११ नम्बर गण रौतहटका गणपति एसपी सन्तोष बस्नेतलाई दिएको थियो ।

चिनी राखेको उक्त घरमा छापामा मार्न प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका डिएसपी अमर लामाको नेतृत्वमा टोली पनि परिचालन भएको थियो । यसका साथै मधेस प्रदेशको सुरक्षा बेस सन्तपुरका डिएसपी राजेन्द्रबहादुर बस्नेतको टोली पनि खटिएको थियो । सशस्त्र प्रहरीको उक्त टोलीले चिनी गौर भन्सार कार्यालयमा बुझाएको थियो । तर भन्सारमा बुझाउँदा थोरै परिमाण चिनी मात्रै बुझाएको भन्दै अहिले चर्चा भइरहेको छ र थप अनुसन्धान अघि बढाएको छ सशस्त्र प्रहरीले जनाएको छ ।



उक्त चिनी तस्करीबाट आएको अनुमान गरिएको छ भने चिनी कसले ल्याएको छ, अहिलेसम्म खुलेको छैन । ठूलो परिमाणमा चिनीका बोरा गायब भएपछि सशस्त्र प्रहरी बलका एक जना प्रहरी उपरीक्षक (एसपी) र दुई जना प्रहरी नायब उपरीक्षक (डिएसपी) छानबिनमा तानिएका छन् । एसपी सन्तोष बस्नेत, डिएसपीहरू अमर लामा र राजेन्द्रबहादुर बस्नेतलाई सशस्त्र प्रहरी प्रधान कार्यालयमा तानेर छानबिन भइरहेको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार एसपी सन्तोष र डिएसपी राजेन्द्रबहादुरलाई बुधबार हेडक्वार्टर तानिएको छ । उनले भने, ‘उहाँहरूमाथि हेडक्वार्टरले छानबिन गर्न बोलाएको हो, अहिले छानबिन भइरहेको छ ।’ डिएसपी अमर लामालाई भने केही समयअघि नै हेडकेवार्टर तानिएको थियो । ‘हेडक्वार्टरमा सूचना आउँदा करिब ७ सय बोराजति चिनी रहेको भिडियोसहित आएको थियो । तर छापा मारेर भन्सारमा चिनी बुझाउँदा गगबडी भएको देखियो, त्यसैले छानबिन गर्नुपर्ने भयो,’ सशस्त्र प्रहरी स्रोतले भनेको थियो ।

भन्सार कार्यालयमा रिपोर्ट बुझाउँदा भने सशस्त्रको टोलीले जम्मा १०६ बोरा चिनीमात्रै बरामद भएको विवरण दिएको थियो। यस्तो विवरण आएपछि हेडक्वार्टरमा हलचल मच्चिएको थियो । छापा मार्न खटिएका अधिकांश सशस्त्र प्रहरीलाई मधेस प्रदेशको छिन्नामस्ता बाहिनीमा तानेर अनुसन्धान अघि बढाइएको थियो । स्रोतका अनुसार डिएसपी राजेन्द्रबहादुरसहित १७ जनालाई छिन्नामस्ता तानिएको थियो ।

डिएसपी अमर लामालाई भने सुरूमै हेडक्वार्टर तानिएको थियो । उनलाई हेडक्वार्टरको कानुन महाशाखाले छानबिन गर्दा अन्यको पनि कैफियत हुन सक्ने भनेर छानबिन गर्न बुधबार एसपी सन्तोष बस्नेत र डिएसपी राजेन्द्रबहादुरलाई तानिएको छ । छापा मार्न खटिएका सशस्त्र प्रहरी निरीक्षकलाई भने नसिहत दिएर राखिएको छ ।

Comment


Related News

Latest News

Trending News