
बाराको अमलेखगञ्जमा बाघको आक्रमणबाट बुधबार एक पुरुषको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका– २२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेका प्रहरीले जनाएको छ ।
बुधबार स्कुटर लिएर घरबाट घाँस काट्न जंगल गएका शर्मा अबेरसम्म नफर्किएपछि परिवारले खोजी थालेका थिए। खोजतलासको क्रममा स्कुटर र काटिएको घाँस फेला परे पनि शर्माको अवस्था पत्ता नलागेपछि परिवारले स्थानीय प्रहरीमा लिखित जानकारी दिएका थिए । सोही आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी सहायक निरीक्षक जयप्रकाश साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा आधाभार जंगलमै शर्माले प्रयोग गर्ने चप्पल र भुइँमा रगत लतपतिएकोजस्तो देखिएको बारा प्रहरीले जनाएको छ ।

आधाभार ब्यारेकबाट खटिएको नेपाली सेना, प्रहरी तथा वडा नम्बर २१ र २२ का वडाध्यक्षलगायतको संयुक्त टोलीले पुनः खोजी गर्दा सडकबाट करिब तीन सय मिटर पूर्वतर्फ जंगलभित्र बाघको आक्रमणबाट मृत अवस्थामा शर्माको शव फेला परेका छ । शव घोप्टो अवस्थामा फेला परेको र मृतकको टाउको नरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।
यसअघि गत असारमा पनि अमलेखगञ्जस्थित जंगलमै बाघको आक्रमणबाट एक गोठालाको मृत्यु भएको थियो । मकवानपुरको मनहरी घर भइ बाराको जितपुर सिमरा उपमहानगरपालिका– २१ अमलेखगन्ज बस्दै आएका वीरबहादुर थिङको बाख्रा चराउने कामदारका रूपमा कार्यरत ५५ वर्षीय चन्द्रबहादुर भुलनको बाघको आक्रमणमा परेर ज्यान गएको थियो ।
बाख्रा चराउन चक्री जंगल गएका भुलन घर नफर्किएपछि साँझ आफन्तहरूले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयवासीको टोलीले खोजतलास गर्ने क्रममा भुलनको शव दक्षिणकाली सामुदायिक वनको खोल्सामा बाघले खाएको अवस्थामा फेला परेको थियो । स्थानीयहरुले जनाए अनुसार सो क्षेत्रमा केही समयदेखि बाघको गतिविधि बढ्दो अवस्थामा छ । सुरक्षाका दृष्टिले सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने माग स्थानीयवासीले गरेका छन् ।