२०८२ भाद्र १५, आईतवार १५:२९

पुत्र, पति र परिवारका सदस्यहरूको आरोग्यता तथा सुख, समृद्धिको कामना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आज महिलाहरू भदैया रैब पर्व मनाइरहेका छन् ।

मिथिला क्षेत्रका गाउँगाउँमा आज बिहानदेखि बर्तालु महिलाहरूले घरघरमा ठेकुवा (सक्खर हालेर बनाइएको एक प्रकारको पकवान) पकाएर, केरा, मकै, काँक्रो, स्याउलगायत फलफूल, अक्षता, सुपारी र पानसहितका वस्तु लिएर रैब पर्व मनाउन सुरु गरेका छन् ।



आज बर्तालु महिलाहरू फलफूल, मिठाइ र पकवानसहितका पूजा सामग्रीसहित नजिकैको पोखरी, तलाउ वा नदीमा गई सूर्यदेवतालाई अर्घ्य चढाउँदै पर्व मनाउने गर्छन ।

रैब सूर्य देवताकै पूजा उपासना गरी मनाइने पर्व हो । भदौमा मनाइने भएकाले यसलाई भदैया रैब पर्व पनि भनिन्छ । पोखरी, तलाउ वा नदीमा स्नान गरी, सूर्य देवतालाई पूजा सामग्रीको अर्घ्य दिएर बर्तालुहरू आ–आफ्ना घरमा जान्छन् भने घर पुगेर आँगन वा पिँढीमा फेरि नेउज हाल्ने गर्दछन् ।

नेउज हाल्ने क्रममा बर्तालुहरू भुइँलाई पानी र गङ्गाजलले लिपेर, केराको पातमाथि सक्खर हालेर बनाइएको खिर र केरा चढाउने गर्दछन् । यस क्रममा प्रत्येक परिवारबाट कति जनाले रैब पर्व गर्ने हो, त्यसका लागि प्रत्येक एक जनाका लागि दुई वटा नेउज (दुई स्थानमा प्रसाद चढाउने) हाल्ने गर्नुपर्छ ।

पर्वमा अरूका लागि पनि अरूले नेउज (प्रसाद चढाइदिने) हाल्न सक्छन् । आफ्नो परिवारका कुनै सदस्य बाहिर रहेको वा घरमा आउन नसक्ने अवस्थामा रहेको बेला अरूको नाममा अरूले नेउज हाल्ने गर्दछन् ।

नेउज हालिसकेपछि (प्रसाद चढाइसकेपछि) बर्तालुहरूले फलफूल ग्रहण गर्न सक्छन् । आज राति उनीहरूले नुनबिनाको खानेकुरा (फलफूल, खिर, केरा, स्याउ) लगायत वस्तु नै खाएर बस्ने चलन छ ।

त्यसैगरी अब आजैदेखि मिथिलाञ्चलका प्रत्येक गाउँ ठाउँका प्रायः जसो महिलाले प्रत्येक आइतबार रैब पर्वका लागि दिनभरि उपवास बस्ने र बेलुका नुनबिनाको खानेकुरा खाएर छ महिनासम्म रैब पर्व मनाउनेछन् ।

मिथिला क्षेत्रमा परम्परागत रूपमै यसपर्व सुख, समृद्धि र विशेष गरी आरोग्यताका लागि मनाउने परम्परा रहेको छ ।

Comment


Related News

Latest News

Trending News