२०८२ भाद्र १७, मंगलवार १८:३८

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उपराष्ट्रपति हान चङबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

बेइजिङमा रहेकाे सरकारी अतिथि गृह देउथाई स्टेट गेस्ट हाउसमा आज भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा चिनियाँ पक्षले दुईपक्षीय कूटनीतिक सम्बन्ध विस्तारका साथै दुवै देशलाई लाभ हुने आयोजना अघि बढाउने विषयमा छलफल गरेको थियो । त्यसैगरी नेपाली पक्षले औपचारिक भ्रमणका लागि आमन्त्रण गरेकामा र उच्चस्तरीय भेटवार्ताका लागि चीन सरकारप्रति आभार व्यक्त गरेको थियो । प्रधानमन्त्री ओलीले शाङ्घाई सहयोग सङ्गठन (एससीओ) बैठक उपलब्धिमूलक भएको धारणा व्यक्त गर्नुभएको थियो ।

भेटमा नेपाली पक्षले एक चीन नीतिप्रति स्पष्ट रहेको दोहोर्‍याउँदै चीनका विरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको थियो । आजै उपराष्ट्रपति हानले नेपाली प्रतिनिधिमण्डलको स्वागतमा रात्रिभोज आयोजना गर्नुभएको छ ।

तियान्जिन शहरमा आयोजित एससीओ शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री ओली आजै बेइजिङ जानुभएको हो ।

Comment


Related News

Latest News

Trending News