
सिरहाको लहानमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक शिशुको अवस्था गम्भीर रहेको छ ।
सिरहाको लहान नगरपालिका–१ स्थित मटियर्वा टोलमा एकै परिवारका दुईको मृत्यु भएको छ भने एक जना गम्भीर रहेको प्रहरीले जनाएको छ । लहान नगरपालिका–१२ भोटिया टोल घर भइ हाल मटियर्वामा डेरा लिई बस्दै आएकी २३ वर्षीया रंजिता चौधरी आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी छन् ।

उनको जेठो छोरा करिब ५ वर्षीय एरोन चौधरी मृत अवस्थामा खाटमा फेला परेका छन् । त्यस्तै ९ महिनाको कान्छो छोरालाई भने गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पु¥याइएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार, दुई बालबालिकालाई विषादी सेवन गराइएको आशंका गरिएको छ । रञ्जिता चौधरीले कोठाको ढोका भित्रबाट थुनेर सिलिङ फ्यानमा सलको पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेकी छन् । उनको ५ वर्षीय छोरा मृत अवस्थामा खाटमा भेटिएको थियो भने ९ महिनाको शिशुलाई तुरुन्त उद्धार गरी प्रादेशिक अस्पताल लहान लगिएकोमा त्यहाँका चिकित्सकले विष सेवनको आशंका गर्दै थप उपचारका लागि सप्तऋषि अस्पताल लहान पठाएका छन् ।
हाल शिशुको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीयहरुका अनुसार चौधरी परिवार केही महिनाअघि मात्र अनदेश्वर चौधरीको घरमा डेरा गरी बस्न थालेको थियो। घटनाको समयमा श्रीमान प्रवीण चौधरी भने घरमा थिएनन् ।
यस घटनाका सम्बन्धमा प्रहरी अनुसन्धान भइरहेको जनाएको छ। घटनाको कारण हालसम्म खुल्न सकेको छैन। आत्महत्या वा जबरजस्ती विष सेवन गराइएको भन्ने विषयमा यथार्थ बुझ्न पोस्टमार्टम रिपोर्ट र अन्य अनुसन्धानको पर्खाइ गरिएको छ । घटनास्थलमा सिरहा प्रहरीले प्रमाण संकलन गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइ अनुसन्धान गरिरहेको जनाएको छ ।