२०८२ भाद्र १९, बिहीबार ०७:२०

केही सातादेखि पर्साको वीरगञ्जमा हैजा संक्रमणले त्रासदीय अवस्थाको सृजना गरेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको आईसीयूमा उपचाररत ६ जना बिरामी मध्ये तीनजनाको अवस्था गम्भीर रहेको बताइन्छ । हैजाका कारण ती तीनजनाको निरन्तर डायलाइसिस भइरहेको अस्पतालले जनाएको छ ।

झाडापखाला लागेर अस्पताल भर्ना भएका ४० र ५० वर्षीय पुरुष र ३५ वर्षीय महिलाको मिर्गौलाले काम गर्न छोडेर डायलाइसिस भइरहेको जनाइएको छ । तीनैजना बिरामीको शरीरमा युरिया र क्रियाटिनिनको मात्रा अस्वाभाविक रूपमा बढेको थियो ।

अस्पतालका प्रवक्ता तथा उपचारमा संलग्न चिकित्सक उदयनारायण सिंहले हैजाले जटिलता निम्त्याउँदा शरीरमा पानीको मात्रा कम (डिहाइड्रेसन) भएपछि मिर्गौलामा समस्या देखिएको जानकारी दिए । उनले तीनपल्ट डायलाइसिस गरेपछि भने उनीहरूको शरीरले विस्तारै प्रतिक्रिया जनाउन थालेको र थोरै–थोरै पिसाब आउन थालेको बताए ।

विज्ञले जनाए अनुसार हैजाबाट बचेर निको हुने अधिकांशलाई दीर्घकालीन असर भने हुँदैन । तर मिर्गौलामा एकपटक गम्भीर क्षति गर्दा कहिँलेकाहीँ जटिलता निम्त्याउन सक्छ । नारायणी अस्पतालमा अत्यधिक झाडापखलाको कारण दुईजनाको मृत्यु भइसकेको जनाइए पनि मृत्युबारे अझैसम्म पनि विवाद नै छ ।

दुईजनाको मृत्यु पखाला र डिहाइड्रेसनका कारण भएको भए पनि ती दुवैलाई हैजा भनेर सरकारले पुष्टि गरेको छैन । यद्यपि उपचारमा संलग्न चिकित्सकले भने हैजाको कारणले मृत्यु भएको हुनसक्ने संकेत गरेका छन् । डा. सिंहले भदाँै ६ गते एक व्यक्तिको अस्पताल आइपुग्दा नै मृत्यु भइसके पनि उनीमा हैजासँग मिल्दोजिल्दो लक्षण नै थियो । मृत्यु हुने ती व्यक्ति हैजा प्रकोप फैलिएको ठाँउबाट नै आएको उनको दाबी छ । त्यस्तै अर्को व्यक्तिको अस्पतालको उपचारको क्रममा मृत्यु भएको थियो । ती व्यक्तिमा पनि झाडापखालाको लक्षण थियो । अस्पतालले गरेको हैजा परीक्षणमा आरडीटी नेगेटिभ देखियो ।

विज्ञका अनुसार कहिँलेकाहीँ आरडीटीले सही नतिजा नदिन पनि सक्छ । जसका लागि कल्चर परीक्षण गर्न आवश्यक हुने गरेको उनको भनाइ छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हैजाबाट वीरगञ्जमा ३ जनाको मृत्यु भएको जनाएका थिए । तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हैजाकै कारण मृत्यु नभएको दाबी गरे । उनले यस विषयमा मन्त्रालयबाट थप अध्ययन भइरहेको बताए ।

जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले हैजा संक्रमितको मृत्यु भएको विषयलाई लुकाउन खोजेको आशंका व्यक्त गरे । हैजाबाट वीरगञ्ज महानगरपालिका–१२, १३ बढी प्रभावित छ । तर संक्रमण कहाँबाट फैलियो भन्ने दुई साता बिते पनि पत्ता लाग्न सकेको छैन । खानेपानी पाइपमा ढलको दूषित पानी मिसिँदा हैजा फैलिएको आशंका विज्ञहरूले गरेका छन् ।

नारायणी अस्पतालमा हैजाको लक्षण लिएर आएका सयभन्दा बढी बिरामीले सरकारी खानेपानी संस्थाको पानी पिउने गरेको बताएका छन् । वीरगञ्ज वडा नम्बर १२ र १३ मा सरकारी खानेपानी दुई किलोमिटर माथिबाट आउने गर्छ । ट्ंयाकी भएको पानी जमिनमुनिको पाइपबाट आउने गरेको छ । यससँगै ढलको पाइप जोडिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का विज्ञहरूले गरेको पनि ढल र खानेपानी एकै ठाउँमा भएकाले बीचमा कतैबाट पाइप फुटेर हैजा फैलिएको आंशका गरेका छन् । हैजा फैलिन थालेपछि स्थानीय सरकारले पानी स्रोत भएको सबै ठाँउमा शुद्धीकरण गर्ने क्लोरिनको प्रयोग गरेको थियो । जसको कारण हैजाका जीवाणु नष्ट भएको छ । त्यसपछि परीक्षण गर्दा पानीमा हैजा पुष्टि हुन सकेन ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्लोरिन प्रयोग गरिएका कारण हैजा फैलिएको ठाउँ पुष्टि हुन नसकेको बताए । क्लोरिन प्रयोग गरिएको पानीमा हैजाका जीवाणुको वृद्धि सम्भव छैन । पछिल्ला दिनमा केही दिनमा अस्पतालमा आउने बिरामी विस्तारै घट्दै गएको छ । डा. सिंहले नारायणी अस्पतालमा एकैदिन ५० भन्दा बढी बिरामी आउने गरेकोमा पछिल्ला तीन दिनमा दैनिक बिरामीको संख्या आधा घटेर करिब ३० को हाराहारीमा पुगेको बताए ।

Comment


Related News

Latest News

Trending News