२०८२ भाद्र २१, शनिबार ०६:५३

नेपाली कांग्रेस–नेकपा एमाले नेतृत्वको सरकारलाई निसाना बनाउँदै संघीय लोकतान्त्रिक मोर्चाले देशव्यापी रुपमा जनजागरण अभियान नै चलाएको छ । जनकपुरधाममा शुक्रबार आयोजित वर्तमान राजनीतिक अवस्था– जागरण अभियानमा मोर्चाका नेताहरूले भूमि विधेयक र गौर हत्याकाण्डको मुद्दा उचालेर मधेशीलाई फसाउन खोजेको भन्दै ओली नेतृत्वको सरकारको कडा आलोचना गरे ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस– एमाले गठबन्धन सरकारलाई निकम्मा र नालायकीपनको संज्ञा दिए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले सरकारकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा परेको दाबीसमेत गरे । उनले भने, ‘कांग्रेस कहिल्यै गणतन्त्रको पक्षमा थिएन ।



नेपालमा वास्तविक कम्युनिस्ट पनि छैनन्, कम्युनिस्टको नाममा अवसरवादीहरू जम्मा भएका छन्, जसले संघीयतालाई समाप्त गर्ने षडयन्त्र गरिरहेका छन् ।’ प्रदेशमा सरकार बने पनि अधिकार र कानुनको अभावमा काम गर्न नसकेको अध्यक्ष यादवले बताए । कांग्रेस–एमालेले वर्तमान सरकार बलियो रहेको दाबी गर्दै आएकोतर्फ लक्षित गर्दै यादवले सरकार बलियो भएको अनुभूति जनतामा हुन नसकेको उनले जिकिर गरे । अध्यक्ष यादवले भने, ‘यदि यो सरकार बलियो छ भने किसानलाई मल किन छैन ? सरकारी विद्यालयमा शिक्षा किन छैन ? सरकारी अस्पतालमा गरिबको उपचार किन छैन ? बेरोजगारी किन हटेको छैन ?’ सरकारले सुशासन होइन, कुशासन दिएको उनको आरोप थियो ।

उनले मधेश केन्द्रित दलहरुले विगतमा गरेको कमी कमजोरीको समीक्षा र विश्लेषण गर्दै अघि बढ्नु विकल्प आफूहरुसंग नरहेको बताए । उनले विचारमा एक रहेको दलहरुलाई मोर्चाभन्दा माथि उठेर एउटै झण्डा एउटै ब्यानरमा आउन आह्वान समेत गरे । सरकारले ल्याएको भूमि विधेयक मधेशलाई कमजोर पार्ने षडयन्त्र रहेको उल्लेख गर्दै अध्यक्ष यादवले अहिले नलडे भविष्य झन भयावह हुने चेतावनी दिए ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले शासक वर्गको अन्धराष्ट्रवाद विरुद्ध पहिचानवादी शक्तिहरुको एकजुटतालाई ध्यानमा राखेर मोर्चाको गठन भएको बताए । मधेशलाई समाप्त पार्न शासक वर्ग यहाँको भाषा र संस्कृतिमाथि निरन्तर प्रहार गर्दै आएको उल्लेख गर्दै अध्यक्ष ठाकुरले भूमि विधेयकको नाममा मधेशलाई मधेशमै कमजोर पार्ने षडन्त्र गरि रहेको बताए ।

उनले अहिले संघर्ष नगरे आउने पीढिलाई झन दासत्व जीवन जिउन बाध्य पार्ने चेतावनी समेत दिए । सो कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशीको एकता मात्र शासक वर्गलाई परास्त गर्न नसक्ने भन्दै थारु र आदिवासी जनजातिलाई समेत एकसाथ लिएर अघि बढ्नु पर्ने बताए । पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष महतोले पहिलो मधेस आन्दोलनबाट प्राप्त उपलब्धि समाप्त भएको दाबीसमेत गरे ।

उनले भने, ‘अब पनि एकजुट नभए मधेस फेरि पुरानै अवस्थामा पुग्छ ।’ उनले गौर घटना पुनः उचालेर मधेसी नेताहरूलाई कमजोर पार्ने षडयन्त्र भइरहेको आरोपसमेत लगाए । शासक वर्गका अतिरिक्त मधेशी आदिवासी जनजातिलगायतका समुदाय सदियौँदेखि शोषणमा परेको उल्लेख गर्दै अध्यक्ष महतोले सबै मिलेर लडनु अपरिहार्य रहेको बताए ।

उनले मधेशलाई शोषण गर्ने सबालमा काँग्रेस एमाले र माओवादी एक रहेको उल्लेख गरे । त्यस्तै जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भूमि विधेयक मधेशमा मधेशीलाई कमजोर पार्ने राजा महेन्द्रको नीतिको पुनरावृत्ति रहेको दाबी गरे । उनले भूमि विधयेक र गौर घटना लगायतको मुद्दामा मोर्चा एकजुट रहेको स्पष्ट पारे ।

पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष त्रिपाठीले मधेश आन्दोलनका उपलब्धिहरू खसवादी शक्तिले निष्क्रिय पारेको बताए । नेताहरूलाई जनतामाझ परिणाम देखाउन आग्रह गर्दै थप्दैँ भने, ‘खसवादी, खसवादी भनेरमात्रै हुँदैन, अब केही गरेर देखाउनुपर्ने समय आएको छ । भाषण होइन, रिजल्ट चाहिन्छ ।’ सो कार्यक्रममा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले शाषक वर्गले मधेशमाथि विभेदको सिंकजालाई थप मजबुत बनाउने अभियान शुरु गरेको बताए ।

तमलोपाको आयोजना तथा संयोजनमा भएको सो कार्यक्रमको अध्यक्षता तमलोपा धनुषाका अध्यक्ष धीरेन्द्र बहादुर सिंहले गरेका थिए भने उक्त कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीकी नेतृ उर्मिला सिंह, तमलोपाका डा. विजयकुमार सिंह, असगर अली, जसपा नेपालका कोषाध्यक्ष सुरिता साह, लोसपाका महासचिव परमेश्वर साहलगायतकाले आ– आफ्ना धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News