पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको पथलैया–अम्लेखगञ्ज सडकखण्डमा बाघको आक्रमणका घटना बढेपछि स्थानीय वासिन्दा त्रसित बनेका छन् ।
पछिल्लो दुई महिनामा मात्रै बाघको आक्रमणबाट तीन जनाको मृत्यु भएपछि मानव र वन्यजन्तुबीचको द्वन्द्व थप गहिरिएको छ । बाघको आक्रमणबाट ज्यान गुमाउनेहरूमा जीतपुर सिमरा उपमहानगरपालिकाका चन्द्रबहादुर बोलांग, कृष्ण कुमार शर्मा र रमेश कार्की रहेका छन्।
स्थानीयका अनुसार, उनीहरूमध्ये दुई जनाको जंगलमा घाँस–दाउरा गर्ने क्रममा र एक जनाको सडक किनारमा आक्रमण भएको थियो। वडाध्यक्ष शेखरकाजी रुम्बाले नरभक्षी बाघलाई नियन्त्रणमा लिन निकुञ्ज र वन कार्यालयले बेवास्ता गरेको आरोप लगाए । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले भने बाघको बासस्थान क्षेत्रमा मानिसहरू प्रवेश गर्दा यस्ता दुर्घटना हुने गरेको भन्दै त्यसलाई ‘मानवीय त्रुटि’ मानेर मानिसहरूले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने बताए ।
उनले वन्यजन्तुको बासस्थानमा भएको क्षतिमा राहत दिने व्यवस्था नभएको बताए । निकुञ्ज प्रशासनले पथलैया–अम्लेखगञ्ज सडकखण्डमा सवारी साधन नरोक्न यात्रुहरूलाई आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ । निकुञ्जमा क्यामेरा जडान गर्ने काम पनि भइरहेको छ। यद्यपि, खतिवडाले वन्यजन्तु र मानिसको सुरक्षाका लागि प्रदेश सरकार, स्थानीय तह र वडाबाट पर्याप्त सहयोग नपाएको गुनासो गरे ।
सन् २०१८ मा १८ वटा रहेको बाघको संख्या सन् २०२२ मा ४१ पुगेको र आगामी गणनामा यो संख्या ५० नाघ्ने अनुमान गरिएको छ ।



