२०८२ भाद्र २२, आईतवार १५:१९

सरकारले सामाजिक सञ्जाल सूचीकृत हुन नआएको भन्दै प्रतिबन्ध लगाएको विषयमा सत्तासाझेदार दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

आइतबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी बैठकमा नेताहरूले  सामाजिक सञ्जाल बन्द गरेको विषयमा आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुपर्ने निष्कर्ष निकालेको हो।

नेता विमलेन्द्र निधिले आजको बैठकमा सामाजिक सञ्जाललाई नियमन गर्न विकल्प हुँदा हुँदै बन्द गर्ने सरकारको निर्णय सही नभएको विषय उठेको जानकारी दिए।

बैठकमा महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल बन्द गर्दा शीर्ष राजनीतिक दल र तीनका नेताप्रति युवा पुस्ता थप  चिढिने अवस्था बन्ने बताएका थिए।

सभापति देउवाले भने, ‘बन्द गर्नुपर्छ त भनेको छैन नियमन गर्ने भनेको छ। सरकारको कुरा के रहेछ बुझौँ।’

त्यस्तै बैठकमा सहभागी प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार यस विषयमा विज्ञसँग छलफल गरेर धारणा बनाउने भनिएको छ।

नेता निधिकाअनुसार आजको बैठकमा कात्तिक १७ मा मनाङ प्रदेशसभा ख मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय भएको बताए। उनले उम्मेदवारको विषयमा संसदीय बोर्डले छिटै छलफल गर्ने भनिएको बताए।

Comment

Related News

Latest News

Trending News