
बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ सिमरामा आइतबार बिहान बाघको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ । मृत्यु हुनेमा जितपुरसिमरा–१ का ५८ वर्षीय छेवाङ लामा रहेका छन् ।
इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेदप्रकाश जोशीका अनुसार, लामा बिहान करिब ७ बजे प्रगतिशील सामुदायिक वनतर्फ च्याउ टिप्न गएका बेला बाघले आक्रमण गरेको हो । गम्भीर घाइते भएका लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाँस काट्न गएका अन्य स्थानीयले घटनास्थलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्पश्चात प्रहरी टोली पुगेको थियो । मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि पनि बारा अमलेखगञ्जमा बाघको आक्रमणबाट तीनजनाको ज्यान गएको थियो । लगातार यस्ता घटनाले स्थानीयवासी आतंकित बनेका छन् । घटनापछि बाघ नियन्त्रणमा लिन पर्सा राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय बारा, चितवन प्राविधिक टोली, राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र, नेपाल प्रहरी र नेपाली सेना सक्रिय भएको डीएसपी जोशीले बताए ।
बाघलाई नियन्त्रणमा लिन हात्तीको प्रयोगसहित डार्टमार्फत बेहोस पार्ने योजना बनाइएको पनि उनले जानकारी दिए ।