
जेनजी भनिने नवयुवापुस्ताले हिजो गरेको प्रदर्शनमा राज्यले दमन गरेको भन्दै चौतर्फी विरोध भएको छ ।
राजनीतिक दल तथा नागरिक समाजले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । हिजोको घटनापछि सरकारले नैतिक र वैधानिक अधिकार गुमाइसकेको विपक्षी दलहरुले जनाएका छन् ।

हिजोको प्रदर्शनमा काठमाण्डौमा १७ र सुनसरीमा दुई गरी १९ जनाको ज्यान गएको छ । चार सयभन्दा धेरै घाइतेको उपचार भैरहेको छ । झडपमा ७१ जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । प्रहरीको गोली लागेर घाइते भएकाको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आठ, सिभिल अस्पतालमा तीन, एभरेस्ट अस्पतालमा तीन, केएमसी अस्पतालमा दुई र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जनाको ज्यान गएको छ ।
त्यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दुई जनाको ज्यान गएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको ज्यान गएकोमा अहिलेलसम्म पाँच जनाको पहिचान खुलेको छ । सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाण्डौ कीर्तिपुरका बुद्धि तामाङ, काठमाण्डौ वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो ।
यस्तै इटहरीमा ज्यान गुमाएका दुईमध्ये एक जनाको पहिचान खुलेको छ । इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठको प्रदर्शनका क्रममा ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । अर्का एक युवकको पहिचान खुल्न बाँकी छ । प्रहरीका अनुसार सिभिल, वीर, ट्रमा, एभरेस्ट, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसहितका अस्पतालमा चार सयभन्दा धेरै घाइतेको उपचार भइरहेको छ ।
सरकारले जेनजीको प्रदर्शनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने जनाएको छ ।
देशका विभिन्न स्थानहरुमा बिहानदेखि नै विरोध भइरहेको छ ।