जेन–जी प्रदर्शनकारीहरुले मंगलबार बिहानैदेखि जनकपुरधाम नगरको विभिन्न स्थानमा प्रदर्शनसहित तोडफोड गरेका छन् । राजनीतिक नेतृत्व र सत्तारूढ दलका शीर्ष नेताहरूको घर तथा कार्यालयहरू प्रदर्शनकारीहरूको निशानामा पारेका छन् ।
सामाजिक सञ्जामाथि लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको आन्दोलनको क्रममा जनकपुरधामस्थित युवाहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय, मधेश प्रदेशको प्रदेश सभा, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रलालय, जिल्ला प्रशासन कार्यालय धनुषा, भन्सार कार्यालय जनकपुर, यातायात व्यवस्था कार्यालय जनकपुर, मुजेलियास्थित प्रहरी चौकी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयलगायत बल्वा प्रहरी चौकीलगायतमा जेन– जी प्रदर्शनकारीहरुले तोडफोडसहित आगजनी गरेका छन् ।
त्यस्तै उनीहरुले नेपाली कांग्रेसको मधेश प्रदेशको कार्यालय र धनुषा जिल्लाको पार्टी कार्यालय, नेकपा एमाले धनुषाको कार्यालय, नेकपा माओवादी केन्द्र धनुषाको कार्यालयमा आगजनी गरेका छन् । सो आगजनीका कारण कार्यालय भित्र रहेका सोफा, कुर्सी, महत्वपूर्ण कागजात फाइलहरुलगायतका सरसामग्रीहरुले जलेर नष्ट भएको छ ।
त्यस्तै उनीहरुले नेकपा एमालेका केन्द्रीय सचिवसमेत रहेका पूर्वमन्त्री रघुवीर महासेठको घरमा प्रदर्शनकारीहरुको एक समूहले आगजनी गरेका छन् । भने पूर्वउपप्रधानमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिको घरमा पनि आगजनी गरेका छन् । त्यस्तै जनकपुरधामस्थित जानकी चोकमा प्रहरीमाथि प्रदर्शनकारीहरुले ढुंगामुढा प्रहार समेत गरेका छन् ।
सो क्रममा जनकपुरधामको विभिन्न चोकमा प्रदर्शनकारीहरुले सडक जाम गरी आन्दोलन गरेका छन् । सोमबार प्रहरीले काठमाण्डु र इटहरीमा प्रदर्शनकारीमाथि गोली चलाउँदा १९ जना युवाको मृत्यु भएपछि देशभर आक्रोशित आन्दोलन तीव्र बनेको छ । सरकारको मौनता, दमनको शैली, र नागरिकको आवाजलाई दबाउने प्रयासप्रति असन्तुष्ट जनाउँदै युवा पुस्ता सडकमा उत्रिएका छन् ।
त्यस्तै जनकपुरधाममा भइरहेको जेन–जीको उग्र प्रदर्शनपछि धनुषामा कफ्र्यु लागेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जनकपुरधाम क्षेत्रमा आज दिउँसो ३ बजेदेखि लागु हुने गरी कफ्र्यु लगाएका छन् । कफ्र्यु बुधबार बिहान ७ बजेसम्म रहने प्रमुख जिल्ला अधिकारी आचार्यले जारी गरेको आदेशमा उल्लेख छ ।



