२०८२ भाद्र २५, बुधबार १५:५९

जिल्ला कारागार सर्लाहीका कैदीबन्दीले कारागार भवनको माथिल्लो तल्ला भागमा आगजानी गर्ने प्रयास गरेका छन् । बुधबार बिहान एक्कासि कैदीबन्दीले कारागार तोडेर भाग्ने प्रयास गर्नेक्रममा आगजानी गरेका हुन् । कैदीबन्दीहरूले कारागारको माथिल्लो तल्लामा आगजनी गरेर भाग्ने प्रयास गरेपछि तीनवटै सुरक्षा निकायले नियन्त्रण लिएका छन् ।

हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले चारै तिरबाट कारागार घेरा हालेका छन् । सुरक्षाकर्मीको बलियो घेरामा कारागार भवन रहेका कारागारका प्रमुख विशाल चौधरीले जानकारी दिए । कैदीबन्दी बिहान केही बेर तोडफोड प्रयास गरेपछि कारागार परिसरको अवस्था तनावग्रस्त बनेको उनले जानकारी दिए ।



‘‘बिहान अवस्था तनाव ग्रस्त बनेको थियो,’’ कारागार प्रमुख चौधरीले भने, ‘‘तत्काल नेपाली सेना, कारगार सुरक्षाकर्मी समेतले घेरा हालेपछि अहिले अवस्था नियन्त्रणमा आउने क्रममा छ ।’’ कैदीबन्दीले लगाएको आगो पनि बारुण यन्त्रको सहायतामा नियन्त्रणमा लिने प्रयास भइरहेको जनाइएको छ ।

१६० पुरुष र ५० महिला गरी २१० जना क्षमताको यस कारागारमा ३९८ जना थुनामा छन् । यस्तै, जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्मका लागि बिहान ८ः३० बजेबाट सर्लाहीमा निषेधाज्ञा आदेश जारी गरेको छ । ठाउँ ठाउँमा पालिका कार्यालयमा तोडफोड र आगजनी भएपछि सुरक्षा चुनौतीलाई ध्यानमा राखेर निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जारी गरेको आदेशमा पूर्वमा महोत्तरी जिल्ला, पश्चिममा रौतहट जिल्ला, उत्तरमा सिन्धुली जिल्ला र दक्षिणमा भारतको सिमानासम्म चार किल्लाभित्र आवतजावत, सभा, जुलुस, कुनै पनि किसिमको भेला, बैठक गर्ने निषेध गरेको उल्लेख छ ।

चार किल्लाभित्र नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन भएकोले घरमै सुरक्षित रहन भनिएको छ । निषेधाज्ञा अवधिमा पनि अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी कूटनीतिक नियोगको सवारी सञ्चालनमा भने सहजीकरण गरिने उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News