
राष्ट्रिय मानवअधिकार आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुने बताएको छ ।
आयोगले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, “लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्ने कुरामा आयोग दृढ छ । अतः जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्दछ ।”

संकटको यस घडीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आमनागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक भएको आयोगले जनाएको छ ।
विगत दुई दिनमा घटेका हिंसात्मक कार्य, आगजनी र तोडफोडले देशको ठूलो जनधनको क्षति भएको दुःखद घटनाप्रति सबैको चिन्ता हुनु स्वाभाविकै भएको आयोगले बताएको छ । “अब यस प्रकारका घटना हुने छैनन् भन्ने कुरामा विश्वस्त हुँदै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न नगराउन हुन आयोग सबैमा आह्वान गर्दछ,” आयोगले भनेको छ, “देश विषम अवस्थामा रहेको वर्तमान सन्दर्भमा सबै पक्ष संयमित हुनु पर्दछ ।”
सम्बद्ध सबै पक्षले देश र जनताप्रतिको जिम्मेवारी मनन गर्दै वर्तमान अन्योलताको अवस्थाबाट अगाडि बढ्नु आवश्यक रहेको आयोगले औँल्याएको छ । “यसका लागि राष्ट्रिय मानवअधिकार आयोग आवश्यक भूमिका निर्वाह गर्न सदैव तत्पर रहेको छ,” आयोगले भनेको छ ।
काठमाडौंलगायत देशका विभिन्न भागमा भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिको उत्पन्न अवस्थाका सम्बन्धमा आयोगले अनुगमनलाई निरन्तरता दिएको जनाएको छ ।
देशका विभिन्न सहरहरूमा भएको दुई दिनको प्रदर्शनपश्चात लागेको निषेधाज्ञाको समयमा समग्र मानवअधिकारको स्थिति एवम् मृतकका परिवार र घाइतेहरूको अवस्था बुझ्ने कार्यलाई आयोगले आज पनि निरन्तरता दिएको छ ।
आयोगको अनुगमन अनुसन्धान कार्यमा आवश्यक सहयोग पुर्याउनुका साथै मानव अधिकारकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा प्रदायकलाई आवतजावतमा सहजीकरण गर्न समेत आयोग सम्बन्धित सबैमा आग्रह गरेको छ ।