२०८२ भाद्र २६, बिहीबार ०७:४४

नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लमिछाने र पूर्वराज्यमन्त्री संजकुमार साह टकला ६ हजारभन्दा बढी कैदीबन्दी फरार भएका छन् ।

त्यस्तै सुन्धारा केन्द्रीय कारागारबाट नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि फरार भएका छन् । सो कारागारमा रहेका ३ हजार ८ सय कैदीबन्दीमध्ये अहिले करिब ५ सयमात्रै बाँकी रहेको बताइएको छ । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा २ वर्षदेखि थुनामा रहेका थिए । रायमाझी भद्र बन्दीगृहमा रहेका थिए । भागेका रायमाझी अहिले कारागारको सम्पर्कमा नरहेको बताइएको छ । जेन–जी प्रदर्शनको क्रममा देशभरका विभिन्न कारागारबाट कैदीहरु भागेका छन् ।

डिल्लीबजार कारागारमा पनि कैदीबन्दीहरुले आगजनी गरेका थिए । उनीहरुको भाग्ने प्रयास सेनाले असफल बनाएको थियो । त्यस्तै रास्वपाका अध्यक्ष सहकारी ठगी मुद्दाका अभियुक्त हुन् भने साह जनकपुर बमकाण्डका अभियुक्त हुन् । लमिछानेले सुरक्षाकर्मीहरुलाई धम्क्याएपछि साहसहित कैदीबन्दीहरु भागेका थिए । विभिन्न अपराधमा सजाय काटिरहेका कैदीहरु बाहिर आएपछि सर्वसाधारणमा आतंक फैलिएको छ ।

यसका साथै जुन अपराधको सजायमा कैद भुक्तान गरिरहेका कैदीहरु बाहिर आएपछि पीडितहरु घर छाडेर अन्यत्र भागिरहेका छन् । कानुनी दायरामा आएका धेरै जसो कारागारबाट बाहिर आएपछि समाज अर्को आतंकमा प्रवेश गरेको छ । यहाँ पीडित र अनुसन्धानकर्ताभन्दा पीडक र पीडकलाई संरक्षण गर्नेहरु शक्तिशाली भएका कारण उनीहरु घर छाडेर हिँड्न बाध्य भएका छन् ।

राज्यको आधारभूत कर्तव्य शान्ति सुरक्षाको प्रत्याभूति हो । त्यो कर्तव्यबाट राज्य लगभग च्युत भएको छ । यतिबेला राज्य संयन्त्र सबै खलबलिएको र केही भए कोही कसैले उद्धार गर्ने, संरक्षण गर्ने र कानुनी दायरामा ल्याइहाल्ने अवस्था छैन । कसैले तारो नबनाएकाहरू मात्र सुरक्षित छन् भने पनि हुन्छ । सरकारी संयन्त्रमध्ये शान्ति सुरक्षा प्राथमिक जिम्मेवारी गृह प्रशासन र अपराध नियन्त्रण प्रहरीको कार्यक्षेत्रमा पर्छ । देशभर प्रहरीका सबै संरचना प्रभावहीन भएका छन् ।

प्रहरीले बोकेका हतियार भौतिक संरचना माथि धावा बोलिएको छ । अपराध नियन्त्रण, अनुसन्धान र उपचारात्मक सबै मोर्चामा प्रहरी/प्रशासन विफल भएको छ । सुरक्षा स्थितिमा आएको सम्पूर्ण स्खलनको भारी कसले लिने हो भन्नेमा कोही जिम्मेवार छैनन् । अपराधीहरुले यही मौका पारेर थप अपराध गर्ने र इगो साँध्ने काम हुनसक्छ । मंगलबार दिनभरको दृश्य हेर्ने हो साना र स्वचालित हतियारको बोकेका धेरै मानिसहरु सडकमा थिए । ती मानिसहरु कहाँबाट आए भन्ने अहिलेसम्म एकिन भएको छैन ।

छुटेका कैदीहरुले देशभरका अदालतलाई निशाना बनाउँदा प्राय सबै अदालत जलेका छन् । अब उनीहरुको निशाना न्यायाधीश र उजुरीकर्ता माथि प्रस्ट छ । सुरक्षा अवस्था प्राय शून्य भएको बेला समाज यस्तै आतंकले थप ध्वस्त हुने निश्चित देखिएको छ । रवि लामिछानेले आफू गृह सचिवको आदेशले छुटेको भनेको केही समयमै त्यही नख्खु कारागारबाट कुख्यात अभियुक्त सञ्जय टक्ला निस्केर हिँडेका थिए ।

लमिछानेले आफू गृह सचिवको निर्णयमा छुटेको बताएपछि अन्य कैदीहरुले आफू किन छुट्न नपाउने भन्दै आन्दोलन गरेका थिए । सञ्जय टक्ला निस्केपछि मधेशभर सर्वसाधारण आतंकित भएका छन् । १८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको वम विष्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी सजाय काटिरहेका थिए ।

अहिले नख्खु कारागार नै पूरै खाली भएको छ । डिल्ली बजार कारागारका कैदीहरु आफैले आन्दोलन गरेर आगो लगाएपछि सेनाले बाध्य भएर छाडेको छ । डिल्ली बजार र नख्खुमात्र होइन देशभरका कारागारबाट कैदीहरु निस्केपछि अदालत, प्रहरी प्रशासन र पीडितहरुलाई निशाना बनाइरहेका समाचारहरु आइरहेका छन् । कैलाली कारागार पनि पूरै खाली छ ।

कास्की कारागारबाट पनि धेरै कैदीबन्दी भागेका छन् । झुम्का कारागार, सोलु कारागार, रौतहट कारागार, मकवानपुरको भीमफेदी कारागारबाट म्याग्दी लगायतका सबैजसो कारागारबाट अपराधीहरु बाहिर आएका छन् । विभिन्न जघन्य अपराधमा कारागारमा पुगेकाहरू धमाधम बाहिर निस्कन थालेपछि उनीहरूबाट सुरक्षा थ्रेट हुन थालेको छ ।

Comment


Related News