
‘जेन– जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनकपुरधामभित्रका सम्पूर्ण विद्यालय तथा कलेजहरू अनिश्चितकालीन रूपमा बन्द गरिने भएका छन् ।
निजी विद्यालयहरुको छाता संगठन प्याब्सन जनकपुरधाम र नेशनल प्याब्सन जनकपुरधामले संयुक्तरूपमा जारी गरेको विज्ञप्तिमा हालको परिस्थिति र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अर्को सूचना नआएसम्मका लागि पठनपाठन बन्द गरिएको उल्लेख गरिएको छ ।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका क्रममा शहादत प्राप्त गरेका विद्यार्थीहरूप्रती हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौं । शोकाकुल परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै हालको असुरक्षित अवस्थालाई मध्यनजर गर्दै विद्यालय तथा कलेजहरूको पठनपाठन अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको जानकारी गराउन चाहन्छौं ।’
प्याब्सन जनकपुरधाम र नेशनल प्याब्सन जनकपुरधामले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सडकमा भइरहेको प्रदर्शन, सुरक्षाकर्मी र आन्दोलनकारीबीच भइरहेका झडप तथा त्यसबाट उत्पन्न असुरक्षित वातावरणका कारण विद्यार्थी र अभिभावक त्रासमा रहेको छ ।’ शैक्षिक संस्थाहरूले भने शान्ति, स्थायित्व र वार्तामार्फत समस्या समाधान गर्न सबै पक्षसँग अपिल गरेका छन् ।