‘जेन–जी’ आन्दोलनका क्रममा लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा तोडफोड र लुटपाट गरिएको छ ।
आन्दोलनकारीको एक समूहले हजारौँ क्वीन्टल चामल र चिनी लुटेका छन् । सो कम्पनीका लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोले भने, “गोदाममा भण्डारण गरिएको करिब सात हजार क्वीन्टल जिरा मसिना चामल, ५०० क्वीन्टल सोना मन्सुली चामल र तीन हजार ५०० क्वीन्टल चिनी लुटिएको छ ।”

उनले ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेपछि आन्दोलनकारीहरूले खाद्य गोदाममा आक्रमण गरेको बताए । लुटपाटपछि कार्यालयको चारपांग्रे सवारी साधनमा आगजनी गरिएको छ। हाल नेपाली सेनासहितका सुरक्षाकर्मीहरूले सुरक्षा प्रदान गरेका थिए । त्यस्तै सिराहाको लहानसहितका ठाउँमा प्रदर्शनकारीहरुले तोडफोड र आगजनी गरेका थिए ।
प्रदर्शनकारीहरुले जिल्ला सदरमुकाम सिराहा तथा लहानमा करिब एक दर्जन कार्यालयहरुमा आगजनी गरे । सिराहा जिल्ला अदालतमा पनि मंगलबार साँझमा प्रदर्शनकारीले आगजनी गरे । उनीहरुले त्यसअघि नापी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी गरेका थिए । लहान नगरपालिका, घरेलु कार्यालय, इलाका प्रशासन कार्यालय, आन्तरिक राजश्व कार्यालयमा आगजनी गरेका थिए ।

