मधेश प्रदेशको केही कारागारबाट करिब एक हजार जति कैदीबन्दी फरार भएको बताइएको छ । मधेश प्रदेशको सप्तरी, महोत्तरी र रौतहटस्थित कारागार गरी ९८३ कैदीबन्दी फरार भएको बताइन्छ । सप्तरीको राजविराज, महोत्तरीको जलेश्वर र रौतहटको गौर कारागारबाट जेन– जी आन्दोलनमा भएको आगजनी र तोडफोड गरी भागेका छन् ।
सप्तरीको राजविराजस्थित सप्तरी कारागारबाट २०५ कैदीबन्दी फरार रहेका छन् । जसमध्ये ३१ जनालाई नियन्त्रणमा लिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए । हाल ३९८ जना कैदीबन्दी रहेकोमा सोमध्ये एकसयभन्दा बढी कैदी फरार भएको पुष्टि भएको बताए । उनले भने, “आगो नियन्त्रणमा लिन तथा सुरक्षाका लागि नेपाली सेनासहितका सुरक्षा निकाय परिचालन गरिएको छ ।” फरार कैदीबन्दीहरूको खोजी कार्य तीव्र पारिएको उनको भनाइ छ ।
कारागारभित्र अहिले नेपाली सेनाले कडा सुरक्षा दिइरहेका छन् । आगलागीबाट कारागारको संरचना पनि क्षतिग्रस्त भएको प्रारम्भिक जानकारी आएको छ । सो घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । त्यस्तै महोत्तरीको जलेश्वर कारागारबाट मंगलबार साँझ सबै ५७६ कैदीबन्दी भागेका छन् ।
मधेश आन्दोलनका क्रममा भएका सशस्त्र प्रहरीका सई थमन विक हत्या प्रकरणको अभियोगमा रहेका ६ केदीलाई आन्दोलनकारी रिहाइ गराउन गएको बेला कैदीबन्दी पनि आन्दोलन गरेर भागेका छन् । त्यस्तै गौर कारागारबाट २३३ कैदीबन्दी फरार भएका छन् । २९१ कैदी रहेको जेलमा तोडफोड गरी २४ जना बाहेक सबै फरार छन् ।
त्यस्तै सर्लाहीको मलंगवा कारागारमा आन्दोलन गरेर कैदीबन्दी आगजनी गरेर भाग्न खोजेपनि तीनवटै सुरक्षा निकायले नियन्त्रणमा लिएका छन् । आगजानी नियन्त्रणमा लिएका थिए । सो जेलमा विवादित धर्मगुरु रामबहादुर बमजन छन् । उनका समर्थकहरू उनलाई त्यहाँ आक्रमण गरेर छुटाउन पुगेका थिए । तर सुरक्षाकर्मीले धपाए भने आगजनी नियन्त्रणमा लिन सफल भएका थिए ।
सो क्रममा कयौं राउण्ड हवाई फायर र अश्रुग्यास सुरक्षाकर्मीले प्रहार गरेका थिए । त्यस्तै वीरगञ्जको कारागारबाट भाग्न खोजेपछि रातिदेखि नै तनाव थियो । नेपाली सेनाले गोली चलाएर वीरगञ्जमा कैदीबन्दीलाई रोकेको छ । अहिले देशका धेरै कारागारमा नेपाली सेना परिचालन गरिएको छ । सुरक्षाकर्मीको सक्रियताले रोक्न सफल भएको र अहिले अवस्था सामान्य रहेको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए ।



