२०८२ भाद्र २६, बिहीबार ०८:०४

रौतहट जिल्लाका विभिन्न नगरपालिकामा जेन–जी आन्दोलनको आवरणमा अराजक समूहले व्यापक लुटपाट, तोडफोड र आगजनी गरेका छन् ।

गरुडा, कटहरिया, चन्द्रपुर, फतुवा विजयपुर, गौर लगायतका नगरपालिकामा मंगलबार दिनभरदेखि बेलुकीसम्म भएका घटनाले करोडौं रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ । गरुडा नगरपालिकामा आन्दोलनकारी भन्दै आएका अराजक समूहले कार्यालयमा प्रवेश गरी महत्वपूर्ण कागजात, कम्प्युटर, ल्यापटप, प्रिन्टर, ब्याट्री, इनभर्टर, दराज, सोफा लगायतका सामान तोडफोड तथा लुटपाट गरेका थिए ।



त्यसपछि कार्यालयभित्र र बाहिर निकालेका सामग्रीमा आगो लगाइदिएका थिए । नगर प्रमुख कन्थमणि जयसवाल चढ्ने गाडी, नगर प्रहरीको गाडी र एक ट् याक्टरसहित तीनवटा सवारीसाधन जलाइएका छन् । आगलागीले भवन समेत क्षतिग्रस्त भएको छ । जलेर नष्ट भएका सामग्री र गाडी जोड्दा करोडौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

मेयर जयसवालले यो गतिविधिलाई “राजनीतिक प्रतिशोध र योजनाबद्ध तोडफोड” भन्दै विपक्षीहरूले जेन–जी आन्दोलनको नाम दुरुपयोग गरेको आरोप लगाए । बुधबार दिउँसो दर्जनौं संख्यामा किशोरहरूले उनको घरमा समेत आक्रमण गर्ने प्रयास गरेका थिए, तर प्रहरीको तत्कालीन हस्तक्षेपपछि उनीहरू भागेको डिएसपी राजन कार्कीले बताएका छन् ।

कटहरिया नगरपालिकामा पनि मंगलबार बेलुकी अराजक समूहले कार्यालयमा तोडफोड गरी कागजात, कुर्सी, टेबल, स्टील दराज, पंखा लगायतका सामग्री लुटपाट गरेका थिए । त्यसपछि तीनवटा गाडी र कार्यालय सामग्रीमा आगो लगाइएको नगर प्रमुख अजय प्रकाश जयसवालले जानकारी दिए ।

प्रत्यक्षदर्शीका अनुसार नगरका करारका केही कर्मचारी र केही स्थानीयले कुर्सी, टेबल, स्टील दराज, पंखा लगायत कार्यालयका सामान आ–आफ्नो घरमा लगेका थिए। चन्द्रपुर र फतुवा विजयपुर नगरपालिकामा पनि मंगलबार दिउँसो तोडफोड, लुटपाट र आगजनी भएको छ । विस्तृत क्षति विवरण भने कफ्र्यू र कार्यालय बन्द भएकाले संकलन हुन सकेको छैन ।

चन्द्रपुरमा प्रदर्शनकारीहरूले नगरपालिका कार्यालयसँगै इलाका प्रहरी कार्यालय, डिभिजन सडक कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवनमा समेत आगो लगाएर पूर्ण रुपमा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिएका छन् ।

त्यस्तै, चन्द्रनिगाहपुरमा प्रदर्शनकारीले रौतहट घर भएका संघीय सांसद देवप्रसाद तिमलसिना, प्रदेशसभा सदस्य युवराज भट्टराई, नगरप्रमुख सञ्जयकुमार काफ्ले, सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीको घर र नेकपा एमाले चन्द्रपुर नगर कमिटी कार्यालयमा समेत आगो लगाएका थिए । गौर नगरपालिकाको कार्यालय, नेकपा एमाले, नेपाली कांग्रेसलगायत दलका पार्टी कार्यालयहरूमा समेत तोडफोड र आगजनी भएको छ ।

Comment


Related News

Latest News

Trending News