गौरस्थित कारागारबाट मंगलबार राति सामूहिक रुपमा भागेका कैदीमध्ये १७ जनालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको छ। सीमावर्ती बैरगनिया प्रहरीसँग समन्वय गरी उनीहरूलाई पुनः गौर कारागारमा ल्याइएको सिडियो विनोद कुमार खड्काले जनकपुर टुडे लाई जानकारी दिएका छन्।
यससँगै हालसम्म २९१ कैदीमध्ये ७९ जना नियन्त्रणमा आएका छन् भने २१२ जना अझै फरार रहेका छन्।
१७ जना भारतमा पक्राउ
एसएसबीले नियन्त्रणमा लिएका कैदीहरुमा नेपालतर्फका गौर–४ का जितेन्द्र गिरी (२७), गरुडा–५ का गणेश साह (३०), समनपुर–१ का सन्तोष राम (२४), गरुडा–५ का रणधीर यादव (२३), गौर–५ का विवेक मिश्र (२८), औरैया–२ का राजन साह सोनार (२५), छतौना–४ का अजय यादव (२४), गौर–४ का राजेश पटेल (१७) र देवाही गौनाही–५ का मोहन साह (४३) रहेका छन् ।
त्यस्तै, भारततर्फका पूर्वी चम्पारण घोड़ासहन बसबरियाका मोनु जायसवाल (२२), घोड़ासहन महुआई–७ का राकेश कुमार (३२), चिरैया दीपही–२ का मुनिफ कुमार यादव (१९) र सीतामढी मेजरगञ्ज मडपा सिरपालका सुधीर कुमार महतो (२८) लगायत रहेका छन्।
यसअघि बुधबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानबाट ३४ जना फरार कैदीलाई नियन्त्रणमा लिएको थियो।
मंगलबार दिनभर जेन–जी आन्दोलन उग्र बनेको थियो। आन्दोलनकारीहरूले चन्द्रपुर नगरपालिका, इलाका प्रहरी कार्यालय, डिभिजन सडक कार्यालय, डिभिजन वन कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयलगायतका सरकारी भवनमा आगजनी गरेका थिए। सुरक्षाकर्मीहरू ती घटनामा व्यस्त रहँदा कैदीहरूले रातिको मौका पारी कारागार भत्काएर सामूहिक रूपमा भागेका थिए।
यद्यपि, हिजो बुधवार देखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितको टोलीले संयुक्त रूपमा जिल्लामा गस्ती सुरु गरेका छन्। आज देखी रौतहट सामान्य अवस्थामा फर्कन थालेको छ। अधिकांश पसलहरू खुलेका छन् र स्थानीयवासीहरू गाउँ–गाउँमा शान्ति सुरक्षामा सहयोग गर्न जुटेका छन्।



