ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई सैन्य विद्रोहको षड्यन्त्र रचेको आरोपमा २७ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको छ । ७० वर्षीय बोल्सोनारोलाई त्यहाँको सर्वोच्च अदालतका पाँच न्यायाधीशको इजलासले सजाय सुनाएको बीबीसीले जनाएको छ ।
तीन वर्ष अघि सन् २०२२ को चुनावमा आफ्ना वामपन्थी प्रतिद्वन्द्वी लुइज इनासियो लुला डा सिल्भासँग हारेपछि सत्ता कब्जा गर्ने उद्देश्यले गरिएको षड्यन्त्रको नेतृत्व गरेको आरोपमा उनी दोषी ठहर भएका हुन् । पाँच न्यायाधीशमध्ये एक जना न्यायाधीशले भने बोल्सोनारो निर्दोष रहेको विचार दिनुभएको छ ।
बोल्सोनारोका वकिलहरूले अनावश्यक रूपमा अत्यधिक सजाय सुनाइएको भन्दै विरोध गरेका खबरमा उल्लेख छ । साथै उनीहरुले पुनरावेदन गर्ने तयारी गरेका छन् । यसअघि घरमै नजरबन्दमा राखिएका बोल्सोनारो आफ्नो अन्तिम सुनुवाईमा समेत अदालतमा अनुपस्थित भएका छन् । यद्यपि उनले आफूलाई आउँदो वर्ष हुने आम निर्वाचनमा उम्मेदवार हुन रोक्नका लागि यस्तो षड्यन्त्र रचिएको आरोप लगाएका छन् ।



