
रौतहट क्षेत्र नं. ३ को कटहरिया बजारमा नेपाली कांग्रेस र नेकपा एमालेले शनिबार संयुक्त रूपमा क्षेत्रीय समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा सहभागी नेताहरूले जेन जि आन्दोलनमा सहिद भएका युवाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै देशको वर्तमान संकट र राजनीतिक असफलतामाथि छलफल गरेका छन् ।
बैठकमा वक्ताहरूले आन्दोलनको क्रममा देखिएका आपराधिक गतिविधिहरू ( व्यक्तिको घरमा आगजनी, नगरपालिकामा तोडफोड, कैदी भगाउने, प्रहरीले गरेको बर्बरता, प्रहरीमाथि आक्रमण )का घटनाको सरकारबाट छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए । उनीहरूले भ्रष्टाचार, परिवारवाद, भागबण्डा र नेताहरूको स्वार्थपरायणताले देशलाई उथलपुथलमा धकेलेको बताए ।

समीक्षा बैठकमा वक्ताहरूले देशका ठूला दलका नेताहरूले अघिल्ला गल्ती सुधार नगरे, जेन जि आन्दोलनभन्दा ठूलो जनविद्रोह हुने बताए ।
बैठकमा सहभागीहरूले प्रधानमन्त्री शुसिला कार्कीलाई जेन जि पुस्ताको चाहनाअनुसार बनेको सरकारको प्रमुख प्रतिनिधि भन्दै उनको नेतृत्वलाई सबै दलले समर्थन गर्नुपर्ने धारणा राखे । साथै, जेन जि ले उठाएका सही मागहरूप्रति दलहरूले ऐक्यबद्धता देखाउनुपर्ने निष्कर्ष समेत निकालेका छन् ।
एमाले केन्द्रीय सदस्य कुन्दन कुशवाहाको अध्यक्षता सम्पन्न बैठकमा नेपाली कांग्रेस वरिष्ठ नेता हृदय नारायण यादव, वृन्दावनका पूर्व मेयर रामासिनेही यादव, कांग्रेस महाधिवेशन प्रतिनिधि ज्ञानेन्द्र यादव, शिक्षक महासंघ जिल्ला अध्यक्ष रामकृपाल यादव, एमाले क्षेत्रीय संयोजक युवराज ज्ञवाली, एमाले जिल्ला उपाध्यक्ष रुपेश पटेल,
कांग्रेस क्षेत्रीय सभापति सर्फलाल गुप्ता, प्रदेश सांसद प्रत्याशी राम नारायण यादव
सहित दुवै दलका दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।