
रौतहटको लाल बकैया नदीमा नुहाउने क्रममा सनिवार बिहान डुबेर बेपत्ता भएकी गौर नगरपालिका–६ का बैजु साहकी १० वर्षीया छोरी करिश्मा (अमृता) साह मृत अवस्थामा फेला परेकी छन् ।
उनी जितिया पर्वको नहायखायका लागि आमासँगै तथा अन्य व्रतालुसँग नदीमा स्नान गर्न गएकी थिइन्। तर स्नानकै क्रममा नदीमा डुबेर वेपत्ता भएकी उनलाई घन्टौँको खोजीपछि नेपाली सेनाले मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए ।

यसअघि गत बिहीबार इशनाथ नगरपालिका–१ का १५ वर्षीय बिगन साह पनि सोही नदीमा नुहाउने क्रममा बाढीको भेलले बगाउँदा बेपत्ता भएका थिए । पाँच जना साथीहरूसँग नदीमा गएका उनीहरू मध्ये चारजना सकुशल फर्किए पनि बिगन साह बेपत्ता भएका थिए । खोजीको तेस्रो दिन शनिबार बिहान करिब ८ किलोमिटर दक्षिण भारतीय भूभागमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
भारतस्थित लाल बकैया नदीमा भेटिएको शव ल्याउन स्थानीय प्रशासन र परिवारजन भारत पुगेका छन् । लगातारका यी घटनाले लाल बकैया नदी वरपरका स्थानीयमा त्रास बढेको छ। विशेषगरी धार्मिक पर्वका अवसरमा सामूहिक स्नान गर्ने परम्परासँगै बालबालिकाको सुरक्षाप्रति थप सतर्कता आवश्यक रहेको जनस्तरमा आवाज उठ्न थालेको छ ।