
राष्ट्रिय मुक्ति पार्टी नेपालले राष्ट्रपति र नयाँ प्रधानमन्त्रीको भूमिका वर्तमान जटिल परिस्थितिमा सुझबुझ र संयम देखाएको भन्दै स्वागत गरेको छ ।
पार्टीका केन्द्रीय सचिव संजय कुमार चौधरीद्वारा जारी विज्ञप्तिमा चुनौतीहरू अझ कायम रहेको भन्दै केवल आक्रोश र भावना मात्रलाई प्राथमिकता दिन नहुने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा जेन जी आन्दोलनको मर्मलाई प्रजातान्त्रिक मूल्य–मान्यतासँग जोड्दै लामो बलिदान र संघर्षबाट प्राप्त उपलब्धिहरूलाई जोगाउनुपर्नेमा जोड दिइएको छ । चौधरीले दलगत भागबन्डाको अन्त्य गर्नु नै आन्दोलनको मूल अपेक्षा भएको भन्दै कुनै पनि पार्टी, तह वा व्यक्तिको आडमा हुने भ्रष्टाचारलाई सक्षम आयोगमार्फत कठोर सजाय दिनुपर्ने धारणा राखेका छन् ।
त्यस्तै, संविधान परिमार्जन, संशोधन वा आवश्यक परे पुनर्लेखनमार्फत सुधार सम्भव भए पनि कुनै बहानामा पहिचानवादी आन्दोलनलाई कमजोर पार्ने प्रयास स्वीकार्य नहुने चेतावनी विज्ञप्तिमा दिइएको छ । नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिँदै राष्ट्रिय मुक्ति पार्टीले लोकतान्त्रिक मूल्य र जनआवाजको रक्षा गर्न सबैलाई एकजुट हुन आग्रह गरेको छ ।