
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरि नयाँ संसद् र सरकारलाई जिम्मेवारी सुम्पने बताउनुभएको छ ।
आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेपछि सरकारका उच्च पदस्थ कर्मचारीसंगको परिचयात्मक कार्यक्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनले सुम्पेको जिम्मेवारी अनुसार नै आफूले पद सम्हालेको उल्लेख गर्दै ६ महिनाभित्र निर्वाचन सम्पन्न गरि नयाँ संसद् र सरकारलाई जिम्मेवारी सुम्पने बताउनुभएको हो । उहाँले सत्ताको रसास्वादन गर्न नभइ सडकबाट जताततै आवाज उठेका कारण प्रधानमन्त्री पदमा आउनुपरेको स्पष्ट पार्नुभयो ।

यस्तै प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित षडयन्त्र हुन सक्ने भन्दै छानविनका साथै कारवाही हुने धारणा राख्नुभयो । मुलुकका महत्वपूर्ण संरचनाका साथै व्यापारिक भवनमाथि भएको आगजनी लज्जास्पद भएको उहाले बताउनुभयो । प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै सरकारका तर्फबाट उचित राहत तथा अन्य सहयोग हुने जिकिर गर्नुभयो । आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरूको पुनर्निर्माण आफ्नै तर्फबाट गर्न उहाले सचिवहरुको ध्यानाकर्षण गराउनुभयो ।
स्वागत कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले आन्दोलनका क्रममा ५९ जना सर्वसाधारण, १० जना कैदीबन्दी अनि ३ जना प्रहरी गरी ७२ जनाको मृत्यु भएका जानकारी दिनुभयो । त्यस्तै त्यस्तै १३४ सर्वसाधारण र ५७ सुरक्षाकर्मीसहित १९१ जना घाइते भएको उहाले बताउनुभयो ।