२०८२ भाद्र ३०, सोमबार ०७:१७

जेन– जी आन्दोलनले केही दिन बन्द रहेको रेल्वे, बस सेवा आइतबारदेखि पुनः सुचारु भएको छ भने विद्यालय सोमबारदेखि सञ्चालनमा हुने भएको छ ।

जेन– जी आन्दोलनपछि उत्पन्न अस्थिर परिस्थितिले जनजीवन प्रभावित भएको थियो । तर अहिले स्थिति सामान्य भएको छ ।



नेपाल रेल्वेका सहायक केवलबहादुर नेपालीका अनुसार भारतमा सर्भिसिङ गरेर ल्याइएको रेल आइतबारदेखि जयनगरबाट जनकपुरधाम सेवा सञ्चालनमा आएको छ । उनले जनाए अनुसार आजदेखि तीन वटा समयतालिका अनुसार रेल सेवा नियमित रूपमा उपलब्ध हुनेछ । त्यस्तै आन्दोलनका कारण केही दिन रोकिएको बस सेवा पनि पुनः शुरु भएको छ ।

माँ जानकी यातायात व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले यात्रुहरूको सुविधा सहज भएको बताए । उनले भने, ‘सुरक्षाका कारण आन्दोलनका दिनहरूमा बस सेवा रोकिएको थियो । अब अवस्था सामान्य बनेपछि सेवा पुनः शुरु गरेका हौँ ।’ शैक्षिक क्षेत्रमा पनि स्थिति सामान्य हुँदै गएको छ ।

आन्दोलनकै कारण बन्द रहेका विद्यालयहरू सोमबारदेखि पुनः सञ्चालन हुने भएका छन् । एनप्याब्सन जनकपुरधामका नगर अध्यक्ष दीपक ठाकुरका अनुसार लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पढाइमा असर परेको छ । यससँगै आन्दोलनले प्रभावित गरेको यातायात, प्रशासनिक र शैक्षिक सेवा क्रमशः सामान्य अवस्थामा फर्किने देखिएको छ ।

Comment


Related News

Latest News

Trending News