जेन– जी आन्दोलनपछि मुलुकभर भएको क्षतिका लागि भौतिक संरचनाको सरसफाइ, क्षतिको मूल्यांकनलगायतका काममा सरकार जुटेको छ । कतिपय सरकारी कार्यालयले सेवा प्रवाह सुचारु गरेका छन् । जेनजी आन्दोलनका क्रममा मधेश प्रदेश सरकारका अधिकांश मन्त्रालयसहितका कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएसंगै सेवा प्रवाह गर्न नसकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव वासुदेव मल्लले जनाए अनुसार अहिले प्रदेश सरकारबाट कुनै पनि सेवा प्रवाह गर्न सकिएको छैन । अधिकांश मन्त्रालय भवन क्षतिग्रस्त रहेकाले तत्कालै सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको उनले बताए । उनले पहिला कर्मचारीको बसोबास व्यवस्थापन गर्ने कार्यमा जुटेको उनले बताए । कर्मचारी बस्ने ठाउँ भइसकेपछि मन्त्रालयबाट प्रवाह हुने सेवा शुरु गरिने उनको भनाइ छ । मधेश प्रदेश सरकार अन्तर्गत कति क्षति भएको छ भन्नेबारे विवरण संकलन गर्ने कार्य भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मधेश प्रदेशमा कति क्षति भएको छ भन्ने हरहिसाब आउन नसकेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । क्षति विवरण संकलनका कार्यमा सहजीकरण गर्नका लागि उपसचिव वासुदेव मल्लको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जनाइएको छ । विवरण संकलन भइसकेपछि प्रदेश सरकारबाट सेवा प्रवाह गर्ने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।



