सर्लाहीमा आगजनी र तोडफोडबाट व्यापक क्षति पुगेपछि आधा दर्जन पालिकाको सेवा अनिश्चित बनेको छ । जेन–जीको आन्दोलनको क्रममा भएको आगजनी र तोडफोड भएका लालबन्दी, हरिवन, बागमती, बरहथवा, हरिपुर, हरिपूर्वा र ईश्वरपुर नगरपालिका तथा चन्द्रनगर गाउँपालिकाको सेवा तत्काल सुचारु गर्न समस्या देखिएको छ ।
लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले आगजनी र तोडफोडबाट कार्यालयका कागजात, कम्प्युटरसहितका विद्युतीय उपकरण, फर्निचरलगायत सबै सरसामग्री खरानी भएकाले तत्कालै सेवा दिन सक्ने अवस्था नरहेको जनाए । जेन– जी आन्दोलनकारीले गरेको आगजनीबाट लालबन्दीमा नगरप्रमुखले चढ्ने प्राडो, उपप्रमुखले चढ्ने टाटासुमो र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गरेको स्कारपियो गाडीसहित एउटा जेसिबी, एउटा डोजर, एउटा ट्रक र एउटा ट्याक्टर कवाडमा परिणत भएका छन् ।
जेन– जी आन्दोलनकारीले लालबन्दी नगरपालिकाको वडा नं. ५, ६, ७ र ९ को वडा कार्यालयमा पनि आगजनी र तोडफोड गरेर क्षति पु¥याएका नगरपालिका कार्यालयले जनाएको छ । त्यस्तै हरिवन नगरपालिका कार्यालयमा प जेन– जी आन्दोलनकारीले दमकलसमेत जलाएका छन् ।
नगरप्रमुख रमेश बुढाथोकीले जनाए अनुसार निर्माण सम्पन्न हुने क्रममा रहेको नगरपालिका भवनसहित भवनभित्रका सरसामग्री, कागजात, दमकल, ट् याक्टरलगायत आगजनी र तोडफोडबाट ध्वस्त भएको छ । हरिवनमा वडा नं. ४, ८, १० र ११ को वडा कार्यालय आगजनीबाट खण्डहर बनेका छन् । नगरप्रमुख बुढाथोकीले नगरपालिका कार्यालय र आगजनी भएका वडा कार्यालयको सेवा सुचारु हुन अझै केही दिन लाग्ने बताए ।
त्यसैगरि नगरपालिका भवन, प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी, तीनवटा मोटरसाइकल र कार्यालयभित्रका सम्पूर्ण कागजात जलेको हरिपुर नगरपालिकाले तत्काल सेवा दिन नसक्ने जनाएको छ । हरिपुरका नगरप्रमुख गोपाल पजियारले अहिले क्षतिको विवरण सङ्कलन भइरहेकाले सेवा सूचारु हुन केही दिन लाग्ने बताए ।
जेन– जी आन्दोलनकारीले गरेको आगजनीबाट सबैभन्दा बढी सवारी साधन, कार्यालय भवन र कागजात जलेको बरहथवा नगरपालिकाले पनि अनिश्चितकालीन रुपमा सेवा बन्द गरेको छ । बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले जनाए अनुसार आगजनीबाट नगरपालिकाको प्रशासनिक भवनसहित वडा नं. ५, ६ र ७ को वडा कार्यालय, एक थान ग्रेडर, एक थान ट्याक्टर, एक थान ब्याक लोडर, एक थान टिप्पर, निजीसमेत गरी १३ थान मोटरसाइकल, तीन थान स्कुटर र एक थान रोलर नष्ट भएका छन् ।
त्यसैगरि चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले सेवा दिन चाहिने चिजवस्तु सबै जलेकाले सेवा दिन गाह्रो परेको बताए । उनले जेनजी पुस्ताको नाउँमा अराजक व्यक्ति प्रवेश गरेर गाउँपालिका कार्यालयमा आगजनी गरेर बर्बाद बनाएको बताए । आगजनी र तोडफोडका कारण पालिकाबाट प्रवाह हुने सेवा ठप्प हुँदा अत्यावश्यक काम परेका सेवाग्राही मारमा परेका छन् ।
वडा कार्यालयमा समेत आगजनी हुँदा व्यक्तिगत घटना दर्तादेखि अन्य महत्वपूर्ण कामहरु रोकिन पुगेका छन् । यता जिल्लाका अन्य पालिका र सरकारी कार्यालय तथा निकायले भने सेवा दिन थालेको छ । जेन– जी आन्दोलनकारीले पालिकाको कार्यालयबाहेक सर्लाहीको मलंगवासहित विभिन्न स्थानका सरकारी कार्यालय र सवारी साधनमा पनि आगजनी गरेर क्षति पु¥याएका छन् ।
जेन– जीको आन्दोलनपछि कतिपय कर्मचारी अझै कार्यालयमा फर्किसकेका छैनन् । सर्लाही प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण धमाधम संकलन भइरहेको बताए । यहाँको अवस्था सामान्य बनेपछि सर्लाहीमा यातायात, विद्यालय र हाटबजार भने निर्बाधरुपमा सञ्चालन हुन थालिसकेका छन् ।



