महोत्तरीको मटिहानी नगरपालिकामा गएराति एक घरमा डकैती भएको छ । मटिहानी नगरपालिका वडा नं. ५ स्थित बिसनपुरमा गए राति डकैती हुँदा लाखौँको गरगहनासहितको रकमसमेत लुटपाट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाए अनुसार बिसनपुरमा आइतबार मध्यरातमा मंगल महरा र बहादुर महराको घरमा करिब पाँच जनाको समूहमा आएका डाकाहरूले धारिलो हातहतियार प्रहार गरी घरका सदस्यहरूलाई घाइते बनाएर लाखौँ बराबरका गरगहना, सामग्री र नगद रकम लुटपाट गरेर लगेको छ ।
उक्त घटनामा मंगल महाराकी पत्नी ५० वर्षीया सैलो देवी, छोरी मनिषा कुमारी र छोरा संजीव महरा गम्भीर घाइते भएका छन् । डाकाहरूको समूहले धारिलो हातहतियार प्रयोग गरी उनीहरूलाई प्रहार गरेको र अहिले घाइतेहरूको उपचार जनकपुरमा भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले घटनास्थलमा पुगेर स्थलगत निरीक्षण गरेका छन् ।
उनलाई घटनाबारे जानकारी वडा अध्यक्ष मिश्री नायकले गराए । स्थानीय बासिन्दाहरूले राति मध्यरातमा भएको उक्त घटनापछि असुरक्षा महसुस गरेको गुनासो गरेका छन् । उक्त घटनापछि महोत्तरी प्रहरीले अनुसन्धान तीव्र पारेको र दोषीलाई छिट्टै पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।



