
जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई ३ दिन भित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । जनमतका केन्द्रीय उपाध्यक्ष ई. नरेन्द्र प्रसाद चौधरीले मुख्यमन्त्री सिंहलाई ३ दिन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएका हुन् ।
जनमत पार्टी मधेश प्रदेश संसदीय दलले मधेश प्रदेशको सरकारमाथि विश्वास नरहेको भनी जनमत पार्टी मधेश सरकारबाट बाहिरिने र मुख्यमन्त्रीसहितका आफ्नो पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरी मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई मधेश प्रदेश सरकारबाट राजीनामा दिन निर्देशन दिँदा राजीनामा नदिएर अवहेलना गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।

मुख्यमन्त्री सिंहले पार्टीको निर्देशन अवज्ञा गर्दै अरू पार्टीहरूसँग साँठगाँठ गरी पार्टीको हित विपरितका गतिविधिमा संलग्न भएको र पार्टीमा आघात हुने गरी कार्य गरेको जनमतको आरोप छ ।
पार्टीको छविलाई आँच पुयाएकोले जनमत पार्टीको विधानको धारा ३९ (क) को उपधारा १,२,३,४,६,१०,११,१२,१५, साथै राजनैतिक दलसम्बन्धी ऐन २०७३ को धारा १८ तथा सोही ऐनको धारा २८(३) र धारा ३२ (२) बमोजिमउनलाई पार्टीको संसदीय दलकोतर्फबाट प्रदेश सभा सदस्य तथा पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने तयारी गरिएको छ ।
स्पष्टीकरणमा भनिएको छ,‘जनमत पार्टी मधेश प्रदेश संसदीय दलले मधेश प्रदेशको सरकारमाथि विश्वास नरहेको भनी जनमत पार्टी मधेश सरकारबाट बाहिरिने र मुख्यमन्त्री सहितका आफ्नो पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरी मुख्यमन्त्री सहित मन्त्रीहरूलाई मधेश प्रदेश सरकारबाट राजीनामा दिन निर्देशन दिएको र तपाईं स्वमं फेसबुक मार्फतबाट राजिनामा दिएकोमा सोको समेत अवहेलना गर्दै तपाईंले मुख्यमन्त्री पदबाट राजीनामा नदिएको, उल्टा अरू पार्टीहरूसँग साँठगाँठ गरी पार्टीको हित विपरितका गतिविधिमा संलग्न भएको, पार्टीमा आघात हुने गरी कार्य गरेको, पार्टीको छविलाई आँच पुयाएकोले जनमत पार्टीको विधानको धारा ३९ (क)को उपधारा १,२,३,४,६,१०,११,१२,१५, साथै राजनैतिक दलसम्बन्धी ऐन २०७३ को धारा १८ तथा सोही ऐनको धारा २८९३० र धारा ३२ (२) बमोजिम तपाईंलाई पार्टीको संसदीय दलकोतर्फबाट प्रदेश सभा सदस्य तथा पार्टीको साधारण सदस्य समेत नरहने गरी किन कारबाही नहुनु पर्ने हो ३ दिन भित्रमा स्पष्टीकरण पेश गर्नु हुन अनुरोध छ ।’