सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा ४ र ३ अन्तर्गत विशाल चोकदेखि राजविराजसम्म सडक निर्माणको नाममा लाखौँ रुपैयाँको अनियमितता गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।
गाउँपालिका स्तरीय योजना अन्तर्गत सञ्चालित २० लाख रुपैयाँको योजनामा उपभोक्ता समिति र गाउँपालिकाको मिलेमतोमा बजेट रकममा अनियमितता तथा दुरुपयोग गरेको स्थानीय सुरेन्द्र यादवले आरोप लगाए । गाउँपालिकाको बजेट समयमा उपयोग नहुँदा उक्त बाटो भएर आवतजावत गर्न ठुलो सास्ती खेप्नु परेको अग्नीसाइर कृष्णासावरन गाउँपालिका वडा नम्बर ३ का पूर्ववडाध्यक्ष अरुण कुमार चौधरीले बताए ।
ग्राभेल भएको बाटामा मर्मत गर्ने नाममा थप विगारेर खाल्डाखुल्डी बनाउँदा उक्त बाटो भएर संचालन हुने सिटीरिक्सा, एम्बुलेन्स लगायतका आकस्मिक सेवा सञ्चालनमा समस्या उत्पन्न भएको उनले बताए । उनले बाटो मर्मतको नाममा उपभोक्ता समिति र गाउँपालिकाको मिलीभगतमा अनियमित गरेको आरोप लगाए । उनले मर्मतसम्भारको काम गर्नुभन्दा अगाडि सडकमा आवतजावत गर्न सहज थियो, तर जब मर्मतको नाममा ग्राभेल खनेर माटो लगाइयो, त्यसपछि सडकमा हिँड्नै नसक्ने गरि समस्या आएको बताउनुहुँदै पैसा कमाउने नियतले स्टिमेट अनुसार काम नहुँदा यस सडक भएर आवत जावतमा सास्ती खेप्न बाध्य छन् ।
पूर्व वडाध्यक्ष चौधरीले २० लाख रुपैयाँको मर्मत सम्भारको कार्यमा २० प्रतिशत भन्दा कम काम गरि बजेट बाँडफाँड गरेको दावी गर्दे सडक मर्मत सम्भारको कार्यमा ५ लाख भन्दा कमै खर्च भएको आरोप लगाए । स्थानीय बद्री चौधरीले जेसीबीबाट छेउको माटो खनेर खाल्डाखुल्डी पुरेको कारण उपभोक्ता समितिले सडक बनाउनुभन्दा विगारेको गुनासो गरे । उनले कामै नगरी २० लाख रुपियाँ भुक्तानी लिएकोले छानवीन गरि कारबाही गर्नुपर्नेमा बताए ।
सिटिरिक्सा चालक गुगली रजकले सडकको ठाउँ–ठाउँमा खाल्डाखुल्डी भइ हिलाम्मे हुँदा ठुलो सास्ती खेप्नुपरेको बताए । त्यस्तै अर्का सिटी चालक खेलानन्द चौधरीले बाटो विग्रीएकाले बाटोको कारण आम्दानी ठप्प भएको बताए । उनले कमाई नहुँदा सिटी किन्न लिएको ऋृणको किस्ता बुझाउन समेत नसकेको दुखेसो पोखे । बाटो राम्रो हुँदा दैनिक १ हजार ५ सय देखि ३ हजारसम्म कामाउने गरेकोमा बाटोमा सिटी चलाउन नपाउँदा आम्दानी नै रोकिएको अर्का सिटी चालक रामविलाश साहको गुनासो छन् ।
साविक हरिहरपुर गाविसका अध्यक्ष बद्री नारायण चौधरीले योजनाबाट कमाउने नियतले खोलाको बालुवा ग्राभेलमाथि लगाएकाले बाटोको यस्तो दुर्दशा भएको बताए । उनले ‘ग्राभेल त पहिलेदेखि नै थियो तर किन त्यसमाथि बालुवा लगाउनु प¥यो, ’यसमा उपभोक्ता समितिको राम्रो नियत देखिएन, चरम भ्रष्टाचार भएको छ, छानबिन गरि बजेट असुल उपर गरी पुनर्निर्माण गर्नु पर्ने बताए ।
स्थानीय विनोद कुमार चौधरीले गाउँपालिकामा भ्रष्टाचारले सिमा नाघेको भन्दै त्यसैको एउटा उदाहरण यो सडक मर्मतको काम भएको बताए । बीस लाखको काममा १५ लाख भ्रष्टाचार हुनु दुर्भाग्य भएको बताउँंदै उनले सबैमिलेर भ्रष्टाचार रोक्न खबरदारी गर्नुपर्नेमा जोड दिए । सडक मर्मत सम्भार उपभोक्ता समितिका अध्यक्ष परशुराम ठाकुरले स्टिमेट भन्दा बढी काम गरेको दावी गरेका छन् । बर्षा महिनामा सडकमा खाल्डाखुल्डी भइ हिड्डुल गर्न तथा सवारी साधन चलाउन समस्या भएको स्वीकार गर्दै उहाँले खाल्डाखुल्डी पुर्ने काम छिटै गर्ने बताए ।



