
जेन– जी आन्दोलनको क्रममा शिवपुरी ब्यारेकबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहिरिएपछि जनकपुरधाम आएका एमालेका सचिव रघुवीर महासेठलाई उनका कार्यकर्ताले स्वागत गर्दै प्रदर्शन गरेका छन् ।
जनकपुरधाममा शुक्रबार एमाले पार्टी कार्यालयबाट शुरु भएको रैली जनकपुरधाम नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । सो क्रममा सचिव महासेठले जेन–जी आन्दोलनको नामा घुसपैठियाहरुले मुलुकभर विध्वंश मचाएको दाबी गरे । पूर्वमन्त्रीसमेत रहको सचिव महासेठले भ्रष्टाचार नियन्त्रणको जेनजीहरुको माग उचित भएपनि मुलुकको राजनीतिक व्यवस्थालाई नै धरापमा पार्ने तत्वहरु घुसपैठ गरेर सिंहदरवार देखी नेताहरुको घर सम्म जलाउने कार्य गरेको बताए ।

जेन– जी आन्दोलनको क्रममा प्रहरीले नभई घुसपैठियाहरुले नै युवाहरुको हत्या गरेको समेत उनले बताए । उनले जेन– जी युवापुस्ताले भ्रष्टाचार अन्त्य, सुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनेजस्ता न्यायसंगत माग उठाए पनि आन्दोलनलाई हिंसात्मक रुपमा दिँदै सत्ता परिवर्तन र निजी सम्पत्तिमा क्षति पु¥याउने दिशामा मोड्ने प्रयास गरिएको थियो । उनले देशी–विदेशी शक्तिहरू सक्रिय भइ आन्दोलनलाई हिंसात्मक बनाएको र ‘स्नाइपर शुटर’ प्रयोग गरी युवाहरूको हत्या गराएको आरोप लगाए ।
उनले अन्तरिम सरकारलाई गम्भीर छानबिन गरी षड्यन्त्रमा संलग्न शक्तिहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे । उनले एमाले र नेपाली कांग्रेसका नेताहरूका घर समेत लक्षित गरेर जलाइएको, साथै व्यक्तिगत रिसिइवीसमेत साधिएको आरोप लगाउँदै वास्तविक दोषी पहिचान गर्ने आवश्यकता रहेको बताए ।