डा.सीके राउत अध्यक्ष रहेको जनमत पार्टीबाट कारबाहीमा परेका तथा अलग भएका नेताहरूले आज (शनिबार) नयाँ पार्टी घोषणा गरेका छन् ।
मधेस प्रदेशको राजधानी जनकपुरमा डा.सञ्जयकुमार साहको अध्यक्षतामा दुई दिनसम्म चलेको बैठकबाट पार्टीका विद्रोही नेताहरूले ‘जनस्वराज’ नामक पार्टी गठन गरेका हुन् ।
सम्यक् समाजका लागि सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने भएकाले पार्टी अध्यक्ष कसैलाई नबनाएको ई.दीपक साहले बताए । उनले भने, ‘पार्टी सञ्चालनका लागि विभिन्न विभागहरू गठन गर्छौँ, त्यो विभागको जिम्मेवारी दिएर पार्टी सञ्चालन गर्छौँ ।’
पार्टी गठनसँगै तीन वटा विभाग पनि बनाइएको छ । साहलाई राजनीतिक संगठन विभागको जिम्मेवारी दिइएको छ भने ई.सुरेन्द्रनारायण यादवलाई आर्थिक विभागको जिम्मेवारी दिइएको छ । त्यस्तै प्रशिक्षण विभागको जिम्मेवारी डा. सञ्जयकुमार साहलाई दिइएको छ ।
यसरी विभिन्न विभागमा जिम्मेवारी दिएर पार्टीका गतिविधिहरू बढाइने नेता दीपक साहले बताए । अन्य नेताहरूलाई पनि यसैगरी विभागीय जिम्मेवारी दिने तयारी भइरहेको उनले सुनाए । दीपक साह यसअघि जनमत पार्टीमा उपाध्यक्ष तथा अनुशासन समिति संयोजक थिए भने ई. यादव कोषाध्यक्ष थिए । दुवैलाई जनमत पार्टीका अध्यक्ष राउतले कारबाही गरेर निकालेका हुन् ।
जेनजी आन्दोलनपछि जनमतका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा केही नेताले विद्रोह गरेर पार्टी छाडेका थिए । हाल उनीहरू गठन भएको नयाँ पार्टीमा त छैनन् तर नयाँ पार्टीसँग निरन्तर कुराकानी भने भइरहेको नेता दीपक साहले जानकारी दिए ।



