२०८२ आश्विन ५, आईतवार ०७:३०

मधेश प्रदेश सभाको बैठक असोज ७ गते मंगलबार बस्ने सर्वदलीय बैठकबाट निर्णय गर्दै पहिलो बैठकमा शुभकामना आदानप्रदान र जेन– जीको आन्दोलनमा सहादत प्राप्त गरेकाहरुमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यसूची तय गरिएको छ ।

जनता समाजवादी पार्टी(जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले केही दिन प्रदेश सभाको बैठक नियमित रुपमा बस्ने बताए । मधेश प्रदेश भवनमा तोडफोड र आगजनी गरिएकोले व्यापक क्षति भएको बताइए पनि हालसम्म क्षतिको यकिन भइ नसकेको अवस्थामा सभासदहरुले प्लास्टिककै कुर्सीमा बसेर भए पनि प्रदेश सभाको बैठक सञ्चालन गर्ने सहमति गरेका छन् ।

जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र मुख्यमन्त्री सतीशकुमार सिंहसहित दुई जना मन्त्रीलाई समेत फिर्ता बोलाइए पनि मुख्यमन्त्री सिंह भने फिर्ता नहुने अडानमा छन् ।

यसैबीच दुई जना मन्त्री वसन्त कुशवाहा र सञ्जय यादव फिर्ता भइसकेका छन् । उच्च स्रोतका अनुसार मुख्यमन्त्री सिंहले संसद चलेको पहिलो हप्तामै विश्वासको मत लिने आन्तरिक तयारी थालेका छन् । सिंहलाई नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले विश्वासको मत दिने सम्भावना छ । तर उनले जनमत पार्टीबाट आफू बाहेक अन्य सांसदको साथ पाउने छैनन् ।

सिंहलाई विश्वासको मत दिन नेकपा एमाले भित्र असन्तुष्टि रहे पनि विद्रोह हुने सम्भावना छैन । तर नेपाली कांग्रेसमा भने विद्रोह हुने बलियो सम्भावना छ । मुख्यमन्त्री सिंहलाई विश्वासको मत कांग्रेस पार्टीले नदिने दाबी सांसद रामसरोज यादवले गरेका छन् ।

कांग्रेसका अधिकांश सांसदहरु सिंहलाई नैतिकताको आधारमा राजीनामा गर्न सुझाए पनि सरकारमा रहेका मन्त्रीहरु भने सिंहकै पक्षमा चट्टान झैँ अडेका छन् । लोसपा मधेश प्रदेशका सभापति समेत रहेका सांसद जितेन्द्र सोनलले जनमतले नै समर्थन फिर्ता लिइसकेपछि आफूहरुले मुख्यमन्त्रीलाई समर्थन नगर्ने बताए ।

संसदको पहिलो दिन सरकारको विषयमा मौन रहने विपक्षी दलहरुले दोस्रो दिनदेखि मुख्यमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने तयारी गरेका छन् । जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले संसदमा विपक्षी बेञ्चमा बस्ने सभामुख मण्डललाई लिखित जनाउ दिइसकेका छन् । सरकारबाट समर्थन फिर्ता लिइसकेकाले विपक्षी बेञ्चमा बस्ने नेता यादवले बताए ।

तर मुख्यमन्त्री सिंहले आफूलाई समर्थन गर्नुको विकल्प कांग्रेस, एमाले र लोसपालाई नरहेको दाबी गरे । एमालेलाई कांग्रेसले मुख्यमन्त्री दिन तयार नरहेको, एमालेले पनि कांग्रेसलाई स्वीकार गर्ने पक्षमा नरहेको र लोसपामा आन्तरिक विवाद उत्कर्षमा रहेकाले मुख्यमन्त्रीको आफू बाहेकको विकल्प नरहेको दाबी सिंहको छ ।

Comment


Related News

Latest News

Trending News