रौतहट र बारा संग सिमाना जोडिएको भारत बिहार मोतिहारी जिल्लाको घोडासहनमा शनिबार राति एसएसबी र प्रहरीले संयुक्त रूपमा गरेको कारबाहीमा पाँच जना विदेशी नागरिकलाई नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेमा चार जना सूडानी र एक जना बोलिभियाली नागरिक रहेका छन्। उनीहरूको साथबाट उर्दूमा लेखिएका नोट, केही पुस्तक तथा कागजातहरू बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे मोतिहारी प्रहरीले मुख्यालयलाई पनि जानकारी गराइसकेको छ भने अनुसन्धान तीव्र रूपमा अघि बढाइएको छ।
प्रहरी स्रोतका अनुसार शनिबार राति करिब ९ बजे ७१औँ बटालियन एसएसबीका अधिकृतलाई सूचना प्राप्त भएपछि कारबाही सुरु गरिएको हो। सूचना अनुसार पाँच जना विदेशी नागरिक अगर्वा गाउँबाट निस्केका थिए। तीमध्ये चार जना स्कर्पियोमा सवार थिए भने एक जना मोटरसाइकलमा बसपार्क पुगेका थिए। उनीहरूले जय माता दी नामक बसबाट पटना जाने टिकट पहिले नै अरू व्यक्तिमार्फत काटिसकेका थिए। तर, घटनाको जानकारी एसएसपीसम्म पुगेसँगै तुरुन्तै एसएसबी सहायक कमाण्डेन्ट बिश्वजित तिवारीले मोतिहारीका एसपी सुवर्ण प्रभात लाई खबर गरेका थिए। लगत्तै एसपी प्रभातले घोडासहन प्रहरीलाई निर्देशन दिँदै छापा मार्न पठाएका थिए।
प्रहरी टोलीले बसपार्कमा छापा मार्दा चार जना विदेशीलाई नियन्त्रणमा लिएको हो। केही बेरमै एसएसबीको टोली पनि त्यहाँ पुगेको थियो। पाँचौँ व्यक्ति भने केही समयपछि आफैं घोडासहन प्रहरी चौकीमा उपस्थित भएको बताइएको छ। यी सबै व्यक्ति बस चढ्न बसपार्क नजिकै अँध्यारोमा पर्खिरहेको अवस्थामा पक्राउ परेका थिए। एसएसबी अधिकारीहरूका अनुसार उनीहरू नेपाल सीमा पार गरी भारत प्रवेश गरेका हुन्। छापामारीका क्रममा आपत्तिजनक सामग्री समेत बरामद गरिएको जानकारी आएको छ ।
प्रारम्भिक अनुसन्धानमा सूडानी नागरिकहरूले आफूहरू हैदराबादमा पढाइ गर्ने विद्यार्थी भएको दाबी गरेका छन्। उनीहरूको उमेर ३० देखि ४० वर्षबीच रहेको बताइएको छ। तर, नेपाल हुँदै भारत प्रवेश गर्ने विषयमा भने स्पष्ट जवाफ दिन नसकेको प्रहरीको भनाइ छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरी प्रशासनले इंटेलिजेन्स ब्युरोलाई समेत जानकारी गराएको छ।
पक्राउ परेकाहरू
अब्दुल फितह (४४ वर्ष) – सूडान
रमा सिद्दीकी (३८ वर्ष) – सूडान
अली अब्दुल गफ्फार (२७ वर्ष) – सूडान
अहमद डफआला (३७ वर्ष) – सूडान
मिगुएल सोलानो चावेज (३२ वर्ष) – बोलिभिया
मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातले पाँचैजना घोडासहन थानाको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।



