महोत्तरी प्रहरीले बर्दीबास नगरपालिका वडा नम्बर ३ को गौरीडाँडास्थित बीपी राजमार्गमा सवारी चेकजाँच गर्दा ९७ ग्राम बढी ब्राउन सुगरसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख १८९८ नम्बरको हायसलाई आइतबार बिहान चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध बरामद गरिएको छ ।
महोत्तरी प्रहरीले चालक नजिकैको सीटमा बसेका सिराहा मिर्चैया नगरपालिका–६ का २४ वर्षीय रोहित महतोको साथबाट लागूऔषध फेला पारेको जनाएको छ । लागूऔषध नियन्त्रण ब्युरो बर्दिबासका प्रमुख सरोज अधिकारीका अनुसार महतोको साथमा रहेको खैरो रङको हाफ कट्टु तलासी लिँदा सेतो प्लास्टिकमा प्याक गरेर लुकाइछिपाइ राखिएको अवस्थामा उक्त लागूऔषध भेटिएको छ ।
बरामद गरिएको लागूऔषध ब्राउन सुगरलाई डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित १०२ ग्राम २५० मिलिग्राम र शुद्ध तौल ९७ ग्राम १६० मिलिग्राम रहेको अधिकारीले बताए । ब्युरोले पक्राउ परेका महतोसहित बरामद ब्राउन सुगरलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा बुझाइएको उनले बताए ।



