बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा प्रहरीले ठूलो मात्रामा गाँजा बोकेको मिनी ट्रक सहित चालक पक्राउ परेका छन्।
शनिवार दिउँसो करिब १ बजेतिर अमलेखगंजस्थित प्रहरी चौकी अगाडि गरिएको चेकजाँचका क्रममा मकवानपुरबाट विराटनगरतर्फ जाँदै गरेको बा २ ख ९५६९ नम्बरको मिनि ट्रक रोकि तलासी गर्दा गाँजा फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजका बरिष्ठ सई धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले मिनि ट्रकको छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले छोपेर लुकाइ–छिपाइ गरिएको अवस्थामा २८ पोका गाँजा भेट्टाएको प्रहरीले जनाएको छ । उक्त गाँजा प्लास्टिकमा प्याक गरिएको र तौल गर्दा करिब २३६ किलो ७५० ग्राम रहेको पुष्टि गरिएको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले बताएका छन्।
गाँजा सहित मिनि ट्रक र ट्रक चालक मकवानपुर कैलाश गाउँपालिका–१० बस्ने ३८ वर्षीय रमेश रुम्बालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनी सानुलाल रुम्बाका छोरा हुन् ।
बरामद गाँजा, मिनि ट्रक र पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय अमलेखगंजमै राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। ईलाका प्रहरी कार्यालय सिमराबाट डिएस्पी वेद प्रकाश जोशीको कमाण्डमा टोलि थप सहयोगको लागि खटिगएको समाचारमा उल्लेख गरिएको छ।



