आम जनता पार्टी (आजपा)ले प्रदेशको नेतृत्व हेरफेर गर्दै व्यवस्था परिवर्तनका लागि जनदबाब सहित निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।
काठमाण्डुमा सोमबार बसेको केन्द्रीय कमिटी र पदाधिकारी बैठकबाट गरेको निर्णय सार्वजनिक गर्दै आजपा प्रवक्ता चन्द्रभुषण साहले प्रदेशको नेतृत्व हेरफेर सहित व्यवस्था परिवर्तनका लागि जनदबाब सहित निर्वाचनमा सहभागी हुने जनाएका छन् । उक्त बैठकले प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज एवं अध्यक्षको जिम्मेवारी हेरफेर गरेको छ ।
कोशी प्रदेशको इन्चार्जमा तिलक थापा मगर, सहइन्चार्जमा जुरीलाल मोची, अध्यक्षमा खगेन्द्र भण्डारी, मधेस प्रदेशको इन्चार्जमा त्रिभुवन साह, सहइन्चार्जमा श्रीचन मुखिया, अध्यक्षमा उमेश कुशवाहा, उपत्यका विशेष कमिटीको इन्चार्जमा चन्द्रभुषण साह, अध्यक्षमा देवी पण्डित रेग्मी रहेका छन् ।
यसैगरि सुदूरपश्चिम प्रदेशको इन्चार्जमा सुमिना हुसेन, अध्यक्षमा राम विष्ट, बागमती प्रदेशको इन्चार्जमा धनकुमारी मगर, सहइन्चार्जमा देवी पण्डित रेग्मी र अध्यक्षमा पासाङ तामाङ, गण्डकी प्रदेशको इन्चार्जमा तिलक थापा मगर र अध्यक्षमा भोजराज त्रिपाठी, लुम्बिनी प्रदेशको इन्चार्जमा त्रिभुवन साह र अध्यक्ष विजय यादव र कर्णाली प्रदेशको इन्चार्जमा समिना हुसेन तथा अध्यक्ष आशा संजेल रहेका छन् । आजपा प्रवक्ता साहले व्यवस्था परिवर्तनका लागि पार्टी छठपछि आन्दोलनमा उत्रिने निर्णय भएको जनाएका छन् ।
छठपछि व्यवस्था परिवर्तनका लागि आन्दोलनमा जाने निष्कर्ष बैठकले निकालेको छ । दशमी, दीपावली, छठ पर्वसम्म पार्टीको प्रदेश, जिल्ला, पालिका कमिटीको बैठक, भेला, कमिटी गठन, पुनर्गठन, शुभकामना आदानप्रदान लगायतका गतिविधि गर्ने र चाडपर्व सकिएपछि आन्दोलनमा उत्रिने निर्णय आजपाले गरेको छ । ‘दशमी, दीपावली, छठ पर्वसम्म हामीले शुभकामना कार्यक्रम सहित विभिन्न कमिटीको बैठक, भेला, कमिटी गठन, पुनर्गठन गर्दै अगाडी बढनेछौँ ।
केन्द्रीय कमिटी पुनर्गठन गरेका छौँ, अब प्रदेश, जिल्ला कमिटीहरू पुनर्गठन गर्दै छठ पर्वपछि हामी व्यवस्था परिवर्तनका लागि आन्दोलन सहित निर्वाचनमा सहभागी हुने निर्णय गरेका छौँ,’ प्रवक्ता साहले जनाएका छन् । ‘पार्टी केन्द्र, प्रदेश तथा जिल्ला कमिटीहरूलाई पुर्नगठन गर्दै सिस्टम सुधारका लागि जनदबाब अभियान सहित निर्वाचनमा सहभागी हुने निर्णय गरिएको छ,’ आजपाले निर्णय गरेको छ । ‘देशको अवस्था बदल्न व्यवस्था बदलौँ, राष्ट्रिय स्वाधीनता बचाउन संघर्ष गरौँ’ भन्ने मूल नारासहित बैठकमा अध्यक्ष प्रभु साहले पेस गरेका समसामयिक एवं राजनीतिक प्रतिवेदन बैठकले सर्वसम्मतिले पारित गरेको छ । ‘हाम्रो आजपाद्वारा झण्डै दुई वर्ष अगाडि दलाल दलतन्त्र विरुद्ध जारी तेस्रो जनआन्दोलनको जगमा हालै भएको जेन– जी युवा पुस्ताको अगुवाइमा भएको जनविद्रोहले देशको संसद्, सरकार र संविधानलाई अस्वीकार गरिसकेको सन्दर्भमा फेरि उहीँ तिरस्कृत नेताहरूको संयोजन एवं सहमतिमा केवल नेतृत्वको मुखौटा परिवर्तनमा सीमित गरिनु जेनजी आन्दोलनप्रतिको धोका एवं सडकमार्फत मुखरित ताजा जनादेश समेतको अपमान भएको ठहर सहित सिस्टम सुधारका लागि जनदबाब सहितको संघर्ष र बाँकी कार्यभार पुरा गर्न थप सशक्त रूपमा अघि बढ्ने निर्णय गरिएको छ,’ आजपाले गरेको निर्णयमा उल्लेख गरिएको छ ।
त्यस्तै संविधानमा तत्काल सुधार गर्नुपर्ने महत्त्वपूर्ण विषयवस्तुलाई समेटेर आजपाद्वारा तयार पारिएको १६ बुँदे प्रस्ताव जनताका बीचमा लैजाने निर्णय समेत बैठकले गरेको छ । आम जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था संविधानमा तत्काल सुधार गर्नुपर्ने लगायतका १६ मुद्दा आजपाले सार्वजनिक गरेको छ ।
‘गलत व्यवस्थाका कारण राष्ट्रिय स्वाधीनता, अर्थतन्त्र एवं जनताको वास्तविक लोकतन्त्र सङ्कटमा पर्दै गएको सन्दर्भमा पार्टीद्वारा जारी जनसंघर्ष एवं तेस्रो जनआन्दोलनको मुद्दाहरूलाई थप सशक्त, प्रभावकारी बनाउने निर्णय समेत गरिएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । यसैगरी बैठकले जेनजी आन्दोलनको क्रममा भएको अबोध युवा विद्यार्थीको हत्या, ऐतिहासिक धरोहर, सम्पदा र सम्पत्तिहरूको तोडफोड, आगजनी एवं विध्वंसप्रति दुःख व्यक्त गर्दै यस अपराधमा संलग्न निवर्तमान सरकार, जिम्मेवार सुरक्षा निकाय र घटनामा प्रत्यक्ष संलग्न अपराधीहरूलाई तथ्य र प्रमाणका आधारमा दण्डित गर्नुपर्ने माग गरेको छ ।
त्यसैगरि आजपाले विचार र सिद्धान्त मिल्ने विभिन्न लोकप्रिय व्यक्ति, समूह, सङ्गठन एवं पार्टीसँग एकता र सहकार्य गर्ने निर्णय गरेको छ । उक्त बैठकले सहअध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापामगरको नेतृत्वमा चन्द्रभुषण साह, सुभाष साह, विजय यादव, राम विष्ट सदस्य रहने गरी वार्ता समिति गठन गरिएको छ ।


