जेन– जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको जनकपुर भन्सार कार्यालय मंगलबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको जनाएको छ ।
भदाँै २३ र २४ गते भएको प्रदर्शनका कारण भन्सार कार्यालयका सम्पूर्ण काम ठप्प भएको थियो । जनकपुरधाम भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार अवाले कार्यालय मातहत रहेका छोटी भन्सार कार्यालयहरू (भडरिया, इनरुवा र जटही) बाट भन्सार जाँचपास यसअघि नै सुरु भइसकेको थियो भने असोज ५ गतेबाट मुद्दाका कामहरू पनि शुरु गरिएको जानकारी दिए ।
सूचना अधिकारी अवाले जेनजी प्रदर्शनका क्रममा कार्यालयमा करिब १३ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको बताए । जनकपुरधामको रेल्वे स्टेशन नजिक रहेको कार्यालयका दुई भवन, कर्मचारी निवास र सवारीसाधनमा आगजनी तथा तोडफोड भएको थियो । भदौँ २४ गते भएको आगजनीबाट दुई थान भ्यान, लिलामीका लागि राखिएका ३१५ वटा मोटरसाइकल, एउटा निजी ट्रक, फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामग्रीहरू नष्ट भएका थिए ।



