२०८२ आश्विन ९, बिहीबार १३:१२

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू ठूला परियोजनास्थल र विकास कार्यको प्रत्यक्ष अनुगमन, योजना तथा व्यवस्थापनमा सक्रिय रूपमा व्यस्त रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तकहरूलाई सम्बोधन गर्दै यो व्यस्तता व्यक्तिगत संवेदनहीनता नभई देशको भविष्य, सामाजिक सुरक्षा र दीर्घकालीन समृद्धिका लागि गरिरहेको दृढ प्रयासको परिणाम भएको स्पष्ट पारेका हुन् ।

मन्त्री घिसिङले हरेक दिन जनताबाट प्राप्त हुने चिन्ता, सुझाव र आशाहरूलाई आफ्नो काम गर्ने प्रेरणाको स्रोत मानेका छन् । उनले धेरै शुभचिन्तकहरूले फोन, मेसेज र अन्य सामाजिक सञ्जालमार्फत सम्पर्क गरिरहेको र महत्वपूर्ण सल्लाह-सुझाव दिइरहेकोमा आभार व्यक्त गरेका छन् । उनले ती सबै कुराहरूलाई सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताए ।



कार्यव्यस्तताका कारण सबै फोनहरू तुरुन्तै उठाउन नसकेकोमा मन्त्री घिसिङले विनम्रतापूर्वक क्षमायाचना गरेका छन् । उनले तीन वटा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी बहन गरिरहँदा विकास निर्माणका कामहरू सहज र दिगो रूपमा अगाडि बढाउन तीन तहकै सरकार, संरचनागत साझेदार र समुदायसँग लगातार संवादमा समय बिताउनु अनिवार्य रहेको उल्लेख गरेका छन् । यसै सिलसिलामा आफू भौतिक रूपमा वा फोनमै पनि उपलब्ध हुन नसकेको उनले बताएका छन् ।

जेनजी पुस्ताले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा आफू प्राथमिकताका साथ लागिरहेको मन्त्री घिसिङले बताए । उनले एकातर्फ निर्वाचन गराउनुपर्ने प्रमुख दायित्व र अर्कातर्फ क्षतिग्रस्त सार्वजनिक संस्थाको पुनर्निर्माण उत्तिकै महत्वपूर्ण रहेको भन्दै नेपाली जनताले ठूलो आशा र भरोसा गरेको सरकारले दिगो विकासका लागि बलियो आधार निर्माण गर्नुपर्ने समय यही भएको जोड दिएका छन् ।

मन्त्री घिसिङले आफ्ना कुरा र समस्या कार्यालयद्वारा अनुगमन भइरहेको र प्राथमिकताका आधारमा समाधानतर्फ अघि बढाइएको जानकारी दिएका छन् । उनले आफूले सम्हालेका मन्त्रालयसँग सम्बन्धित कुनै गुनासो, समस्या वा सुझाव भए निम्न शैली अपनाई पठाउन आग्रह गरेका छन्:-

  • पूरा नाम, ठेगाना (गाँउपालिका/नगरपालिका/म​हा-नगरपालिका) र सम्पर्क नम्बर स्पष्ट लेख्ने ।
  • सन्देशको सार संक्षेपमा (१-२ वाक्य) र आवश्यक supporting कागजात/फोटो संलग्न गर्ने ।
  • अत्यन्त जरुरी भएमा सन्देशको सुरुवातमा “URGENT / अत्यन्त जरुरी” उल्लेख गर्ने ताकि सहकर्मीहरूले प्राथमिकता दिन सकून् ।

यस्तो छ उनको खुला पत्र

आदरणीय दिदीबहिनी एवम् दाजुभाइहरू,

तपाईंहरूको साथ र विश्वास मेरो लागि अमूल्य​ छ। हरेक दिन तपाईंहरूको चिन्ता, सुझाव र आशाहरू मलाई प्रतिकात्मक रूपमा प्राप्त हुन्छन् र तिनीहरू नै मेरो काम गर्ने प्रेरणा हुन्। धेरै शुभचिन्तकहरुले फोन, मेसेज र अन्य सामाजिक सन्जालमार्फत मलाई सम्पर्क गरिरहनुभएको छ, महत्वपूर्ण सल्लाह, सुझाव दिइरहनुभएको छ। यहाँहरु सबैले कल र सन्देशहरूमा उठाउनुभएको कुरा सम्बोधन गर्न हामी प्रतिवद्ध भएर लागेका छौं ।

ठूला परियोजनास्थल र विकास कार्यहरूको प्रत्यक्ष अनुगमन, योजना र व्यवस्थापनमा सक्रिय रूपमा व्यस्त भएको कारणले, सबै फोनहरू तुरुन्तै उठाउन म सक्षम हुन सकिरहेको छैन । यसमा तपाईंहरूको धैर्यताको अपेक्षा गर्दै म विनम्र क्षमायाचना गर्दछु। यो व्यस्तता कुनै व्यक्तिगत संवेदनाको अभावले होइन बरू यो तपाईंहरूको भविष्य, सामाजिक सुरक्षा र दीर्घकालीन समृद्धिका लागि गरिरहेको दृढ प्रयासका कारण हो।

जेनजी पुस्ताले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा हामी अहिले प्राथमिकताका साथ लागिरहेका छौं । एकातिर निर्वाचन गराउनुपर्ने प्रमुख दायित्व हाम्रासामू छ भने अर्कातर्फ क्षतिग्रस्त सार्वजनिक संस्थाको पुनर्निर्माण उत्तिकै महत्वपूर्ण छ। नेपाली जनताले ठूलो आशा, भरोसा गरेको सरकारले दिगो विकासका लागि बलियो आधार निर्माण गर्नुपर्ने समय पनि यहि हो ।

तीन वटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी बहन गरिरहदा विकास निर्माणका कामहरू सहज र दिगो रूपमा अगाडि बढाउन तीन तहकै सरकार, संरचनागत साझेदार र समुदायसँग लगातार संवादमै समय बिताउनु अनिवार्य हुन्छ। र यसै सिलसिलामा यहाँहरुले खोजेको समयमा भौतिक रुपमा वा फोनमै पनि उपलब्ध हुन सकिरहेको छैन । तपाईंलाई आश्वस्त पार्न चाहन्छु- तपाईंको कुरा र समस्या मेरो कार्यालयद्वारा अनुगमन भइरहेकै छन् र प्राथमिकताका आधारमा समाधानतर्फ अघि बढाइरहेको जानकारी गराउदछु।

मैले सम्हालेका मन्त्रालयसङ्ग सम्बन्धित कुनै गुनासो, समस्या वा सुझाव भए हामीलाई पठाउनुहोला, त्यसका लागि निम्न शैली अपनाइदिनुहोला:

1. आफ्नो पूरा नाम, ठेगाना (गाँँउपालिका/नगरपालिका/म​हा-नगरपालिका), र सम्पर्क नम्बर स्पष्ट लेख्नुहोस्।

2. सन्देशको सार संक्षेपमा (१-२ वाक्य) र आवश्यक supporting कागजात/फोटो भए संलग्न गर्नुहोस्।

3. अत्यन्त जरुरी भएमा सन्देशको सुरुवातमा “URGENT / अत्यन्त जरुरी” उल्लेख गर्नुहोस् ताकि सहकर्मीहरूले प्राथमिकता दिन सकून्।

तपाईंहरूको सुझाव, सचेतना र प्रतिक्रियाले हामीलाई अझै सबल बनाउँछ। तपाईंहरूको माया, समर्थन र निरन्तर प्रेरणाका लागि म हृदयदेखि आभारी छु ।

धन्यवाद 🙏

Comment


Related News