२०८२ आश्विन ९, बिहीबार १६:४०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनता खतरामा परेको र इतिहासकै गम्भीर परिस्थिति सिर्जना भएको बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले माओवादीको काँधमा ऐतिहासिक जिम्मेवारी आइलागेको बताएका छन् ।

प्रचण्डको प्रतिवेदनमा समेटिएका विषयबारे जानकारी दिँदै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, “नेतृत्वका सम्बन्धमा सुस्पष्ट वैज्ञानिक विचार, राजनीति र प्रतिज्ञाका आधारमा सुनिश्चित गर्ने तयारी छ । अध्यक्ष कमरेडले नेतृत्वभन्दा पनि पार्टीका लागि जीवनको अन्तिम घडीसम्म समय दिने उल्लेख गर्नुभएको छ । सामन्तवादविरुद्ध पृथ्वी नै थर्किने गरी जनयुद्ध गरेको माओवादी केन्द्र सबैखाले प्रतिक्रियावादी र दलाल पुँजीवादविरुद्ध आवाज उठाउँदै आएको छ ।”



प्रवक्ता सापकोटाका अनुसार, समाजवादी मोर्चाका दलहरूबीच पार्टी एकताका विषयमा विचार मिल्नेसँग सघन छलफल भइरहेको छ । बृहत् वामपन्थी मोर्चालाई पनि अगाडि बढाउने योजना माओवादीले सुरुवात गरिसकेको उनको भनाइ छ ।

गत भदौ २३ र २४ गतेको आन्दोलनमा सहभागी जेनजी नेतृत्वसँग पनि वैचारिक, राजनीतिक संवादलाई अघि बढाउने माओवादी केन्द्रको रणनीति रहेको उनले बताए । पार्टीभित्रका र बाहिर रहेका स्वतन्त्र जेनजीको माग र आन्दोलनमा खेलेका भूमिकालाई स्थापित गराउनेबारे पनि छलफल अघि बढाउने अध्यक्ष प्रचण्डको प्रतिवेदनमा छ ।

पछिल्लो समय पार्टीमा वर्गदृष्टिकोण कमजोर बनेको भन्दै प्रचण्डले कार्यशैली र आचरणमा खोट देखिएको बताएका छन् । समीक्षा र आत्मालोचनाले मात्र नहुने भन्दै उनले शल्यक्रियाकै स्तरमा गहिराइमा गएर कमीकमजोरी खोतलेर अघि बढ्ने बताएका छन् ।

माओवादी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल चलिरहेको छ ।

Comment


Related News