
मधेश प्रदेशमा सतीश कुमार सिंह नेतृत्वको अल्पमतको सरकार रहेको बेला प्रदेश सरकारमा विभिन्न राजनीतिक दलले आ– आफ्नो दाबी पेश गर्न थालेका छन् ।
जनमत पार्टीका नेता सतीशकुमार सिंहलाई उनकै पार्टीको संसदीय दलले कारबाही गरी समर्थनसहित मन्त्रीहरुलाई फिर्ता बोलएको थियो । सिंह नेतृत्वको सरकारलाई उनकै पार्टीले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसले पनि मधेश प्रदेश सरकारलाई दिएको समर्थनसहित मन्त्रीहरुलाई समेत फिर्ता बोलएपछि अहिलेको सरकार अल्पमतसंगै कामचलाउमा परिणत भएको छ ।

कांग्रेसले समर्थन फिर्तासहित मन्त्रीहरुलाईसमेत बोलाएपछि अहिले मधेश प्रदेश सरकारबारे विभिन्न खाले अड्कलवाजी हुने गरेको छ । यसैक्रममा नेपाली कांग्रेसले मधेश प्रदेशमा कांग्रेसको संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा प्रदेश सरकारको लागि पहलकदमी लिने भएको छ ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेश सरकारको नेतृत्व कांग्रेसले नै गर्ने दाबी गर्दै कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता तथा पार्टी मधेश प्रदेशका सभापतिसमेत रहेका यादवको नाम प्रस्ताव गर्दै पहलकदमी लिनुपर्ने बताए । यद्यपि महामन्त्री शर्माले आफ्नै पार्टीभित्रमा रहेको विवादलाई तत्काल समस्या समाधान गरी सर्वसम्मत रुपमा नेतृत्वका लागि अग्रसर हुनका लागि नेता यादवसंग आग्रह गरे ।
जनकपुरधाममा बिहीबार नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालयको निरीक्षण तथा पार्टी कार्यकर्ताहरुसंग भेटघाट गर्दै महामन्त्री शर्माले मधेश प्रदेश सरकारको नेतृत्व कांग्रेसले नै गर्ने बताए । महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेस मधेश प्रदेशमा आन्तरिक विवादलाई तत्काल समस्या समाधान गर्नका लागि सबै पक्षसंग भलाकुसारी गरी सर्वसम्मत नेताको रुपमा आफूलाई अघि बढाउनु होस्, र यसका लागि हामीले पनि आवश्यक समन्वय र सहयोग गरी कांग्रेसको केन्द्रीय समितिको बैठक अनुसार नै मधेश प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले नै गर्ने गरी अघि बढ्नुहोस् ।’
महामन्त्री शर्माले मधेश प्रदेश स्वायत्तता रहेकाले कांग्रेस मधेश प्रदेशको सभापति कृष्णप्रसाद यादव रहेकाले उनले नै नेतृत्व हुने गरी प्रदेश सरकारका लागि पहलकदमी लिनका लागि आग्रह गरे । उनले कामचलाउ मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेश सरकारबाट मार्गप्रशस्त गरी नयाँ प्रदेश सरकार गठनमा सहयोग गर्न सुझाव दिए ।
जेन– जी आन्दोलनको क्रममा मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमा सार्वजनिक रुपमै लामो फेहरिस्तसहितको राजीनामाको कारण खुलाएर दिए पनि अब आएर सोबाट पञ्छिदैँ आफ्नो हठता प्रदर्शन गर्नु गलत रहेको तर्फ इंगित गर्दै महामन्त्री शर्माले मुख्यमन्त्री सिंहलाई मार्गप्रशस्त गरी राजनीतिक निकास दिन आग्रह गरे ।
महामन्त्री शर्माले विगतमा भएको विभिन्न आन्दोलन र मधेश आन्दोलनको उपलब्धि स्वरुप संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएकाले यसविरुद्ध कुनैपनि किसिमको गलत कदम स्वीकार्य नहुने उनले बताए । उनले अहिलेको अवस्थामा संविधान परिमार्जनको आवश्यकता रहेकोसमेत औल्याए ।
विभिन्न पटक भएको आन्दोलनकै कारण प्राप्त भएको संविधान परिमार्जन गर्दै सबैको अपनत्व हुने गरी मधेशी, कर्णाली, आदिवासी, जनजाति, थारुलगायत सीमान्तकृतवर्गलाई थप अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘ आन्दोलनकै कारण प्राप्त भएको संविधान परिमार्जन गर्दै सबैको अपनत्व हुने गरी मधेशी, कर्णाली, आदिवासी, जनजाति, थारुलगायत सीमान्तकृतवर्गलाई थप अधिकार सम्पन्न बनाउनु पर्छ ।’ यही भदौँ २३ र २४ गते भएको जेनजी आन्दोलनको मुद्दाको सम्बोधन गर्न उनले सरकारसंग माग गरे । तर उनीहरुको माग सम्बोधन गर्ने नाममा पहिलाको हक अधिकार नमास्नसमेत आग्रह गरे ।
जेनजी आन्दोलनको नाममा प्रतिनिधिसभा विघटन गर्नु दुःखद भएको टिप्पणीसमेत गरे । उनले जेनजी आन्दोलनको माग विघटन नभइ उनीहरुको मुद्दाको सम्बोधन गनुपर्नेमा अन्यथा गर्न नै गलत रहेको स्पष्ट पारे । उनले मधेश आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गरी जेन– जी आन्दोलनको माग पूरा गर्न आग्रह गरे । अर्को प्रसंगमा उनले पार्टीहरुमा रुपान्तरण हुनुपर्ने बताए । उनले जेनजी आन्दोलनको क्रममा राजनीतिक पार्टीहरुमा पुस्तान्तरणको विषयले जोडतोड पाएकाले यसप्रति कांग्रेसभित्र पनि छलफल भइरहेको बताए ।