
पर्सा जिल्लामा बढ्दो लागूऔषध कारोबारविरुद्ध सशस्त्र प्रहरी बलले चालेको निरन्तर अभियानले फेरि एक पटक उल्लेखनीय सफलता हात पारेको छ ।
विशेष सुराकीका आधारमा गरिएको अपरेसनमा प्रहरीले ८ केजी गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टको नेतृत्वमा सञ्चालन गरिएको अभियानअन्तर्गत पुन एक नेपाली गाँजा तस्कर पक्राउ परेका छन भने एक भारतीय भाग्न सफल भएका छन ।

बिओपी अमरपट्टीका सशस्त्र प्रहरी निरीक्षक कृष्ण केसीको कमाण्डमा खटिएको टोलीले बिन्दावासिनी गाउँपालिका–४ वर गाछीस्थित ग्रामीण नाकामा गाँजा सहित एक नेपाली युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवक पर्सागढी नगरपालिका–९ स्थित एकटांगाका २१ वर्षीय सरोज प्रसाद यादव भएको पुष्टि भएको छ ।
प्रहरीले लागुऔषध ढुवानीमा प्रयोग गरिएको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । यादवलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । घटनाबारे जानकारी दिंदै एसपी भट्टले भने :“लागू औषध सेवन र कारोबारले हाम्रो युवा पुस्ताको भविष्य अन्धकारतर्फ धकेल्दै लगेको छ। यसलाई रोक्न सशस्त्र प्रहरी कुनै पनि हालतमा पछि हट्ने छैन। पर्सालाई लागुऔषधमुक्त जिल्ला बनाउन थप कडा कदम चालिनेछ ।”