२०८२ आश्विन १०, शुक्रबार १९:०४

राष्ट्रिय मानव अधिकार आयोगले गएकाे भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलन र प्रदर्शनमा तत्कालीन सरकारको कमजोरी भएको र अवस्था आँकलन गर्न नसक्दा ठूलो क्षति भएको निष्कर्ष निकालेको छ ।

आयोगले आज संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै प्रदर्शनकारीमाथि गोली प्रहारबाट केहीको ज्यान गएपछि घटना हिंसामा परिणत भएको देखिएको जनाएको छ । पहिलो दिनको प्रदर्शनमा सुरक्षाकर्मीको गोलीबाट प्रदर्शनकारीको ज्यान गएका कारण दोस्रो दिन आगजानी र तोडफोड भएको अनुगमनका क्रममा पाइएको उल्लेख छ ।



आगजनीबाट महत्त्वपूर्ण सरकारी भवन, पार्टी कार्यालय, निजी घर, व्यावसायिक भवन, शैक्षिक संस्था, सञ्चारगृह र प्रहरी कार्यालयमा अत्यधिक क्षति पुगेको देखिएको आयोगले जनाएको छ । शैक्षिक संस्थामा क्षति पुग्दा बालबालिकाको पठनपाठनमा बाधा उत्पन्न हुनुका साथै बालमनोविज्ञानमा समेत असर परेको प्रारम्भिक प्रतिवेदनमा भनिएको छ ।

मानव अधिकार आयोगले सुरक्षाकर्मीको मनोबल उच्च बनाउँदै शान्ति सुरक्षाको अवस्थालाई मजबुत र सुशासनका सवालमा गम्भीर बन्न पनि आग्रह गरेको छ । यस्तै कारागार तथा बालसुधार गृहबाट बाहिर निस्केका बन्दीको फिर्ती तथा कारागार व्यवस्थापनमा गम्भीर समस्या देखिएको उल्लेख छ ।

भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका एजेन्डासहित भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा भएको जनधनको क्षति र घटनापछि मानव अधिकारको अवस्थाका बारेमा आयोगले देशभर निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News