
सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–५ हुलाकी सडकखण्डमा शुक्रवार राती स्कारपियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराति करिब ८ बजे पर्साबाट भेल्हीतर्फ जाँदै गरेकोMH–04–DJ–1297 नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक २३ वर्षीय अंकित चौधरी ९ब्रह्मपुरी–२० गम्भीर घाइते भएका थिए। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल जनकपुर रिफर गरिएको थियो। तर, उपचारकै क्रममा राति करिब ११बजेर ४५ मिनेटमा जनकपुरस्थित राम जानकी अस्पतालमा उनको मृत्यु भएको थियो।
त्यस्तै, मोटरसाइकलमा सवार अर्का युवक २५ वर्षीय रोहित सहनी ९रामप्रित सहनीका छोरा०को टाउको र घाँटीमा चोट लागी राति करिब १०बजेर २० मिनेटमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको पछाडिको सिटमा सवार २३ वर्षीय शिवशंकर पण्डित ९बैद्यनाथ पण्डितका छोरा०को बाँया हात र दुबै खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र उनलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल रिफर गरिएको छ।
घटनापछि स्कारपियो चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज कुमार राईले जानकारी दिए। दुर्घटनाग्रस्त स्कारपियो र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतकहरूको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ।