
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको राजनीतिक संकटको समाधानका लागि अहिलेको संविधान परिवर्तन गरेर अन्तरिम सरकार र अन्तरिम संविधानमार्फतै निकास खोज्नुपर्ने बताएका छन् ।
शनिबार सर्लाहीको लालबन्दीमा आयोजित आजपा मधेस प्रदेश कमिटीको बैठक तथा दशैं, दिपावली र छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष साहले हालको सत्ता संरचनाले देशलाई संकटबाट निकाल्न नसक्ने दाबी गरे ।

अध्यक्ष साहले भने, “केपी शर्मा ओलीको हठ, घमण्ड र अहंकारले मुलुक र नेकपा ९एमाले०लाई मात्र होइन, देशकै अस्तित्वलाई संकटमा पारेको छ । युवाहरूको आवाज सुन्नुको साटो उनीहरूमाथि प्रहार गर्दा यो दशा भोग्नुपरेको हो । यसपटक सेनाले बचायो, तर अहंकार कायमै रह्यो भने अझ ठूलो दुर्दशा निम्तिन सक्छ । त्यसैले गुण्डुमा गुण्डा भेला गर्नुको साटो सार्वजनिक रूपमा माफी मागेर राजनीतिबाट सन्यास लिनुपर्छ ।”
उनले एमाले र कांग्रेसलाई पुराना नेताहरूको छायाबाट मुक्त हुन सुझाव दिँदै भने, “एमालेले ओलीलाई र कांग्रेसले देउवालाई बलपूर्वक हटाएर नयाँ नेतृत्व अघि ल्याउनुपर्छ । यी बुढा नेताहरूलाई स्थायी रूपमा राजनीतिबाट विदा गर्नुको विकल्प छैन ।”
देउवा दम्पत्तिको नाम लिएर साहले देश संकटमा हुँदा नयाँ पासपोर्ट बनाएको प्रश्न उठाउँदै भने, “देश संकटमा हुँदा किन नयाँ पासपोर्ट बनाउनु पर्यो रु भागेर सुख पाउने हो र रु”
उनले हालै नेताहरूको घरमा फेला परेको नगद र जलाइएका नोटबारे सरकारले तथ्य सार्वजनिक गर्न माग गरे । साथै उनले अहिलेको सरकारमा जेनजी आन्दोलनका शहिद परिवार र जेनजी पुस्ताका युवाहरूको पनि प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
“लोकप्रियतावादको हावा नेपालमा पनि चलेको छ । अर्को जेलेन्स्की जन्माएर देशको अस्तित्व नै समाप्त पार्ने षड्यन्त्र हुनसक्छ । देशभक्त नेपाली सचेत हुनुपर्छ,” साहले चेतावनी दिए ।
उनले मुलुकलाई ठूला दलका भ्रष्ट नेताहरूले लुटेर सम्पत्ति विदेश पठाएको आरोप लगाउँदै भने, “अब यस्ता नेताहरूलाई छानीछानी कारबाही गर्नुपर्छ । युवाहरूको बलमा जनताले सेप्टेम्बर ८ र ९ मा देखाएको आन्दोलनले देखाइसकेको छ, अन्त्यमा जनताकै जित हुन्छ ।”
अध्यक्ष साहले शक्ति राष्ट्रहरूको हस्तक्षेप र राजनीतिक मुद्दामा सेनाको सक्रियता बढ्नु सुखद पक्ष नभएको उल्लेख गरे । उनले अन्तरिम सरकारको नाममा समय लम्ब्याउने खेल हुनसक्ने भन्दै कार्यकर्ताहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिए ।
प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी दिँदै साहले भने, “ओली हटाएर कुर्सीमा बस्नकै लागि आएको होइन भनेर प्रमाणित गर्नुपर्छ । त्यही संविधान र व्यवस्था राखेर जनविद्रोहको सम्मान हुँदैन । देशलाई एनजिओ र आईएनजिओले चलाएको जस्तो हुँदैन, सार्वभौमसत्ता र स्वाधीनताको रक्षा नै पहिलो कर्तव्य हो ।”
कार्यक्रममा आजपा नेता त्रिभुवन साह,मधेस प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहा, मौलापुरकी मेयर रिना कुमारी साह, विजय यादव लगायत पदाधिकारी, नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।