
हामी नेपालका संयोजक सुदन गुरुङले हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान नभएको बताएका छन्।
कतिपयले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवास घेराउ गर्न जानुपर्ने भन्दै प्रचार गरेपछि उनले फेसबुकमार्फत त्यस्तो गर्न नहुनेमा अपिल गरेका हुन्।

‘मलाई थाहा छ अहिले भावना तीव्र छ र धेरैलाई निराशा महसुस भइरहेको छ,’ गुरुङले लेखेका छन्, ‘तर हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान होइन।’
शनिबार गुन्डुस्थित आफ्नो निवासमा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संंघले आयोजना गरेको दसैँ भेटघाट कार्यक्रममा ओलीले पनि समाजिक सञ्जालमा आफ्नो घरलाई लक्षित गरेर हमला गर्न जाउ भनिएको भन्दै सुरक्षाबारे सरकारसँग जवाफ मागेका थिए।
‘अहिले तपाईंहरुले हेर्नुभएको होला,’ उनको भनाइ छ, ‘सामाजिक सञ्जालमा केपी ओलीको नयाँ घर भनेर लोकेट गरेर यहाँबाट यति मिनेटमा पैदल पुगिन्छ, यति मिनेटमा गाडीमा पुगिन्छ, सबै हमला गर्न जाऔँ, घर तोकिएको छ। देखाइएको छ। सरकार के हेरेर बसेको छ? के गर्दैछ?’
गुरुङले यस्ता कार्यहरूले देशलाई अझै ठूलो क्षति पुर्याउने र सकारात्मक परिवर्तन पनि ओझेलमा पर्ने उल्लेख गरेका छन्। ‘यस्ता कार्यहरूले हाम्रो देशलाई अझै ठूलो क्षति पुर्याउन सक्छ र हामी लडिरहेको सकारात्मक परिवर्तनलाई ओझेलमा पार्न सक्छन्,’ उनले भनेका छन्।
चुनाव तोकिएको र त्यो नै जेनजीले आफ्नो शक्ति, एकता र दृष्टि देखाउने अवसर भएको भन्दै उनले अनुशासित हुन समेत भनेका छन्।
‘हामीसँग पहिले नै निर्वाचनको मिति तोकिएको छ,’ गुरुङले लेखेका छन्, ‘त्यो नै हाम्रो शक्ति, हाम्रो एकता, र हाम्रो दृष्टि देखाउने अवसर हो। त्यसैले शान्तिपूर्ण तरिकाले, अनुशासनका साथ र साहसका साथ त्यस दिनको तयारीमा हाम्रो ऊर्जा प्रयोग गरौँ।’
उनले आफूहरुको आन्दोलन घृणा र विनाशका लागि नभएको समेत उल्लेख गरेका छन्। ‘हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन। निर्माणको हो, विनाशको होइन,’ गुरुङले लेखेका छन्, ‘सम्पूर्ण देशलाई देखाऔँ कि जेनजी क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ।’